मंगलबार, असोज २९, २०८१

१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ’कुनै दिन’, भिडियोसहित सार्वजनिक

नेपालखोज २०८१ भदौ २३ गते १४:०२

काठमाडाैं । गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ’कुनै दिन’ सार्वजनिक भएको छ । शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको म्युजिक भिडियो आफ्ना नजिकका प्रतिष्ठित व्यक्तित्वहरू, केही मिडिया पर्सनालिटीहरू तथा गीत र भिडियो टिमको उपस्थितिमा सार्वजनिक गरे । उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् ।

करिब १२ वर्षपछि योगेश्वरले यो नयाँ गीत सार्वजनिक गरेका हुन् । सरोज बास्तोलाले रचेको यस गीतलाई सुरुवातमा वि.सं. २०५१ सालमा यसका सङ्गीतकार ओम विक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए । तर, विभिन्न कारणले गीतलाई त्यति बेला सार्वजनिक गर्न सकिएको थिएन । हाल गीतलाई पुनः एरेन्ज गरी योगेश्वरले आफ्नो आवाजमा रेकर्ड गरेर भिडियो सहित प्रस्तुत गरेका हुन् । ’कुनै दिन’ गीतको म्युजिक भिडियोमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन छ, भने क्रिएटिभ निर्देशक जया शर्मा रहेकी छन् । म्युजिक भिडियोमा कलाकारहरू प्रवीण खतिवडा, करुणा श्रेष्ठ, र विकाश लामिछानेले अभिनय गरेका छन् । भिडियोमा आशिम रानाभाटको विशेष उपस्थिति रहेको छ । भिडियोको निर्माण व्यवस्थापन दीपेन्द्र गौतम “माइकल“ ले गरेका छन् भने सह निर्देशन साईव्रत आचार्यको छ । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक तथा रङ्ग संयोजक विकाश दाहाल हुन् । मेकअप र हेयर डिजाइन सुप्रिया आरएल शाहले गरेकी छन् भने स्टाइलिस्ट अशिम रानाभाट रहेकी छन्। यस म्युजिक भिडियोको पोस्टर डिजाइन विजय बस्यालले तयार पारेका छन् ।

गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन् भने गीतको रेकर्डिङ र भिडियोको ब्याकग्राउन्ड स्कोर जेम्स प्रधानले गरेका छन्, अडियो मिक्सिङ र मास्टरिङ दिपेश प्रधान (रक योगीज) द्वारा सम्पन्न भएको छ । रेकर्डिस्टको रूपमा बिजेन श्रेष्ठले योगदान दिएका छन् ।

अमात्यका ’जब सन्ध्या हुन्छ,’ ’लैजा चरी,’ ’सिन्धुली गढी,’ ’म मरे पनि मेरो देश,’ ’मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीतहरू अत्यधिक लोकप्रिय छन् । अमात्यको यस नयाँ गीतले दर्शकहरूलाई पुनः उनीप्रति आकर्षित गराउने विश्वास गरिएको छ ।

भिडियो लिंक

प्रतिक्रिया