शनिबार, वैशाख १५, २०८१

बलीवुड चलचित्र अझै लिङ्गभेदी र पश्चगामी सूत्रमा बन्छन्

नेपालखोज २०८० साउन २ गते १२:३९

काठमाडौं । भारतको अत्यधिक लोकप्रिय हिन्दी फिल्म उद्योग बलीवुडलाई प्रायः पुरुषहरूको संसारका रूपमा लिइने गर्छ । यो विषय लामो समयदेखि चर्चामा रहेको छ।

तर अहिले एउटा नयाँ अध्ययनले पर्दाभित्र र बाहिर दुवैमा लैङ्गिक समानता कति कम छ भन्ने देखाएको छ ।

अमेरिकी डलर २.१ अर्ब बराबरको यो उद्योगले बर्सेनि सयौँ चलचित्र निर्माण गर्छ। संसारभरि रहेका भारतीयहरूले बलीवुडमा बनेका चलचित्र हेर्छन् ।

बलीवुड चलचित्र र हस्तीहरूले दर्शकहरूको कल्पनामा पार्ने प्रभावबारे धेरै भन्न सकिँदैन । यद्यपि वर्षौँदेखि धेरै चलचित्रहरूलाई प्रतिगामी भएको, कुरूपता र लैङ्गिक पूर्वाग्रहलाई प्रोत्साहन गरेको भन्दै आलोचित हुने गरेका छन् ।

यस प्रकारको पहिलो उक्त अध्ययनमा मुम्बईस्थित ‘टीआईएसएस’ भनिने टाटा इन्स्टिट्यूट अफ सोशल साइन्सेसका अनुसन्धानकर्ताहरूले हिन्दी सिनेमामा पितृसत्ताको वर्चस्व कत्ति गम्भीर छ भनेर जाँच्न खोजेका छन् ।

उनीहरूले कोभिड महामारीअघिको वर्ष अर्थात् सन् २०१९ का बक्स-अफिसका २५ वटा सबैभन्दा सफल चलचित्र छाने।

त्यसैगरी सन् २०१२ र २०१९ बीचमा बनेका १० वटा महिलाकेन्द्रित चलचित्रहरू समेत उनीहरूले चयन गरे। सन् २०१२ मा दिल्लीको बसमा एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनापछि त्यसबारे धारणा परिवर्तन भएको छ कि छैन भनेर हेर्नका लागि उक्त अवधि छनोट गरिएको थियो।

उक्त घटनाले त्यस्ता अपराध र महिलाविरुद्ध हुने अपराधलाई सम्बोधन गर्न कडा नयाँ कानुनहरू बनायो ।

उक्त सूचीमा ‘वार’, ‘कबिर सिंह’, ‘मिशन मङ्गल’, ‘दबङ्ग३’, ‘हाउसफुल४’ र ‘आर्टिकल १५’ समेटिएको छ र महिलाकेन्द्रित चलचित्रमा ‘राजी’, ‘क्वीन’, ‘लिपस्टिक अन्डर माई बुर्का’ र ‘मार्गरिटा विथ अ स्ट्र’ लगायतका चलचित्र छन् ।

अध्ययनकर्ताहरूले सिनेमाका पर्दामा देखा परेका झन्डै २,००० पात्रको अध्ययन गरी कलाकारहरूले अभिनय गरेका पेसाका प्रकारलाई हेर्नुका साथै र यौनसम्बन्धी परम्परागत मान्यता, सहमति र घनिष्ठता र उत्पीडनजस्ता धेरै मापदण्डमा फिल्मका विश्लेषण गरेका छन् ।

उनीहरूले एलजीबीटीआईक्यू+ (LGBTQ+) र अपाङ्गता भएका पात्रहरूको सङ्ख्या गणना गरे। उनीहरूलाई कसरी चित्रित गरियो र यी चलचित्रमा कति महिलाले पर्दाबाहिर रहेर काम गरे भन्ने अध्ययन गरे ।

त्यसरी निकालिएको निष्कर्षअनुसार महिलाकेन्द्रित चलचित्रहरूले आशा देखाउने केही काम गरे पनि बक्स-अफिसमा सफल बनेका चलचित्रहरू लैङ्गिक रूपमा विभेदकारी र प्रतिगामी छन् र तिनमा महिला र तेस्रोलिङ्गीको प्रतिनिधित्व निकै कम छ ।

उदाहरणका लागि, विश्लेषण गरिएका ती चलचित्रमा ७२ प्रतिशत पात्र पुरुष, २६ प्रतिशत महिला र २ प्रतिशत तेस्रोलिङ्गी कलाकारले अभिनय गरेका थिए । एलजीबीटीआईक्यू+ पात्रहरूलाई निकै समस्याग्रस्त रूपमा देखाइएको उक्त अध्ययनले पाएको छ ।

उनीहरू कहिल्यै निर्णायक भूमिकामा देखिएनन् । बरु उनीहरूलाई प्राय: लैङ्गिक विभेद झल्किने उपहास्य पात्रका रूपमा प्रस्तुत गरियो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई पनि निकै कमजोर रूपमा प्रस्तुत गरियो । सम्पूर्ण पात्रमध्ये केवल ०.५ प्रतिशतमा अपाङ्गता भएको देखाइयो । उनीहरूलाई प्रायशः सान्त्वना देखाउन वा उपहासको पात्र बनाउन मात्र प्रस्तुत गरियो । –BBC

प्रतिक्रिया