बुधबार, असार १८, २०८२

जनमत सङ्ग्रह गराउन फ्रान्सका ले पेनको म्याक्रोनसँग आग्रह

नेपालखोज २०८१ भदौ २३ गते २०:२४

पेरिस । फ्रान्सका अति दक्षिणपन्थी नेता मरिन ले पेनले आइतबार राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग अध्यागमनजस्ता प्रमुख मुद्दामा जनमत सङ्ग्रह गराउन आग्रह गरेका छन् ।

उनले फ्रान्सेलीलाई प्रत्यक्ष मतदान गर्न दिइँदा राजनीतिक गतिरोध तोड्न सहयोग पुग्ने बताए । गत साता म्याक्रोनले युरोपेली सङ्घ (इयु) को ब्रेक्सिटको वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय पूर्वविदेशमन्त्री मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

तर ले पेनको युरोसेप्टिक, अध्यागमनविरोधी नेसनल र्याली (आरएन) पार्टीको समर्थनमा निर्भर बार्नियरलाई सत्तामा नियन्त्रण गर्न कमजोर मानिएकाले मुलुक अस्थिरताको अवधिका लागि तयार रहेको विश्लेषकहरूले बताएका छन् । आरएन नयाँ नेसनल एसेम्बलीमा सबैभन्दा ठूलो पार्टी हो ।

निर्वाचनपछि फ्रान्सको सबैभन्दा ठूलो राजनीतिक गुटका रूपमा उदय भएको तर बहुमतको कमी रहेको वामपन्थी गठबन्धनले पनि बार्नियरमाथि दबाब बढाइरहेको छ । प्रधानमन्त्रीमा बार्नियरको मनोनयनको विरोधमा र म्याक्रोनको ‘सत्ता कब्जा’ को निन्दा गर्न शनिबार एक लाखभन्दा बढी वामपन्थी प्रदर्शनकारीले फ्रान्समा जुलुस निकालेका थिए ।

संसद्मा आरएनका सांसदहरूलाई नेतृत्व गर्नुहुने ले पेनले आफ्नो पार्टी नयाँ मन्त्रिपरिषद्मा सहभागी नहुने बताए ।आइतबार उनले म्याक्रोनसँग जनतालाई प्रत्यक्ष मतदान गर्नका लागि अध्यागमन, स्वास्थ्य हेरचाह र सुरक्षा जस्ता प्रमुख मुद्दामा जनमत सङ्ग्रह गराउन आग्रह गरे ।

अति दक्षिणपन्थीहरूको परम्परागत गढ उत्तरी सहर हेनिन–ब्युमोन्टमा उनले आरएनले ‘जनतालाई प्रत्यक्ष निर्णय लिने शक्ति दिने उद्देश्यबाट कुनै पनि दृष्टिकोणलाई निःशर्त समर्थन गर्ने’ बताए । ‘इम्यानुएल म्याक्रोनसँग आफैँले सिर्जना गरेको अराजकतामा हाम्रो लोकतन्त्रलाई जीवित गर्ने शक्ति छ’, उनले भने ।

आरएनलाई पूर्ण बहुमत प्राप्त गर्न र सरकार बनाउनबाट रोक्न करिब दुई सय उम्मेदवार जुलाईमा विधायिकाको आकस्मिक निर्वाचनको अन्तिम चरणअघि खडा हुँदा अति दक्षिणपन्थीहरूमा आक्रोश बढ्यो । ले पेनले बार्नियरको हरेक चालमा नजर लगाउने सङ्केत दिए ।

प्रतिक्रिया