कवाड व्यवसायीहरुको मागको सुनुवाइ भएन

काठमाडौं । काठमाडौं महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कवाड व्यवसायी समाज नेपाल १० महिनादेखि सङ्घर्षरत छ । महानगरमा कवाड व्यवसाय गर्ने वतावरण बनाइदिन माग गर्दै व्यवसायीले काठमाडौं महानगरलाई बारम्बार ताकेता गर्दै आएका छन् । विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गरिए पनि १० महिनादेखि महानगरले आफ्ना मागको सुनुवाइ नगरेको कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताले गुनासो गरे । वर्षाैँदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका कवाड व्यवसायीलाई पलायन हुनेगरी महानगरले व्यवसाय सञ्चालन गर्न नदिएको उनको भनाइ छ ।
‘पटक पटक पत्रकार सम्मेलन गरेर हाम्रा मागका सन्दर्भमा महानगरको ध्यानाकर्षण गरायौँ, हुलाकमार्फत पनि मागपत्र पठायौँ, हालसम्म कुनै सम्बोधन भएको छैन’, अध्यक्ष गुप्ताले भने । यता महानगरले भने वातावरण फोहर गरेको, आगजनीका तथा चोरीका घटना बढेको भन्दै कवाड व्यवसायीलाई व्यवसाय गर्न दिएको छैन ।
कामपाका प्रवक्ता नवीन मानन्धरले महानगरभित्र कवाड व्यवसायले कसैलाई पनि फाइदा नपुग्ने भएकाले व्यवसायीलाई महानगरभित्र व्यापार गर्न नदिने निर्णय भएको बताए । उनले भने, ‘जेसुकै भए पनि महानगरभित्र कवाड राखेर कसैलाई पनि फाइदा भएको छैन । उद्योग पनि फष्टाएको छैन, त्यसकारण महानगरभित्र कुनै पनि कवाडी पसल र डिपो राख्न नदिने महानगरले स्पष्ट निर्णय गरेको छ ।’
कवाड सामग्रीमा प्लास्टिकको बोटल, बियर, वाइनआदिका बोटल, फलामका सामग्री, कागजलगायत सामग्री पर्छन् । कवाड व्यवसायीले उद्योगलाई एक महिना कच्चापदार्थ उपलब्ध (सप्लाइ) नगर्ने हो भने उद्योग आर्थिक सङ्कटमा पर्ने अध्यक्ष गुप्ताले दाबी गरे ।
देशमा रोजगारीको सुनिश्चित हुनुपर्ने, महानगरले कवाड व्यवसायीको मर्म र भावना बुझिदिनुपर्ने, अनावश्यक करको बोझ थप्न नुहने व्यवसायीको भनाइ छ । काठमाडौं उपत्यकामा मात्रै करिब ५० हजार कवाड व्यवसायी रहेका समाजले जनाएको छ ।
‘फोहरबाट मोहर बनाइरहेका हामीलाई किन सास्ती दिइयो, फोहर व्यवस्थापन, वातावरण सन्तुलन, उद्योगलाई कच्चापदार्थ उपलब्ध गरिरहेका छौँ, आवश्यक कर पनि तिरिरहेका छौँ, रोजगारी सिर्जना भएको छ तर हामीलाई काठमाडौंबाट लखेट्न खोजियो’, अध्यक्ष गुप्ताले गुनासो पोखे ।
कवाड व्यवसायमा अर्बौैं लगानी भइसकेको व्यवसायीको भनाइ छ । दश महिनामा एक दिन पनि महानगरले मागबारे कुरा गर्न नचाहेको भन्दै कवाड व्यवसायीले यो मुद्दालाई राष्ट्रिय रुपमा उठाएर उद्यमशीलताको विकास र रोजगारीको अवसर प्रदान गर्न लागिपर्ने जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै करिब एक हजार कवाड सङ्कलन गर्ने डिपो छन् । ललितपुर र भक्तपुरमा पनि उल्लेख्य सङ्ख्यामा कवाड डिपो रहेका छन् ।
उद्योगलाई कच्चापदार्थ सप्लाई गरेर अर्बौंको कारोबार गरिरहेका व्यवसायीले मुलुकको अर्थतन्त्रमा पनि योगदान पुर्याउँदै आएको उनीहरुको भनाइ छ । सङ्कलित कवाड स्वदेशी उद्योगका साथै भारतमासमेत निर्यात हुने गरेको समाजका अध्यक्ष गुप्ताले जानकारी दिए । ‘विभिन्न डिपोबाट जम्मा गरिएका सामान उद्योगलाई दिइन्छ । नेपालमा धेरै स्टिल उद्योग छन् । बियर, वाइन, ह्विस्की, प्लास्टिक उद्योग आदिले कवाडी सामान लिन्छन्’, उनले भने ।
महानगरले ज्ञापनपत्र पनि लिन नमानेर आफूहरुलाई अपहेलित गरेको कवाड व्यवसायीको गुनासो छ । कर सङ्कलन हुने, प्रदूषण नियन्त्रण तथा उद्योगलाई कच्चापदार्थ उपलब्ध गराउने गरेको कवाड व्यवसायीले बताएका छन् । आफ्ना मागको सुनुवाइका लागि कवाड व्यवसायीले माइतीघर, सुन्धारा, पुतलीसडकलगायत स्थानमा धर्ना, जुलुस र नाराबाजीसहित सङ्घर्ष गर्दै आएका छन् ।
प्रतिक्रिया