जुम्लाका उत्पादन, कैलालीमा व्यापार

भजनी (कैलाली) । कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त छिन् । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्छिन् । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छिन् भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।
‘श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो’, उनले भनिन्, ‘मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।’ यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताए । मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेकी छिन् ।
जुम्लामा उत्पादित स्याउ प्रतिकेजी ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी रु एक सयदेखि एक सय २० मा बिक्री गर्ने गरेको उनले बताइन् । ‘एक ट्रक स्याउ ल्याउन रु एक लाखभन्दा बढी खर्च हुन्छ’, हंशिला भनिन्, ‘जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ’ उनले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरेककी छिन् । उनका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।

प्रतिक्रिया