ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म अर्याल

मधु शाही २०८१ भदौ २७ गते १२:०१

काठमाडाैं । ‘एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला’, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थालिन् । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिनुभएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने अलि संवेदनशील रहेको बताइन् । अग्लो कुर्सीमा बसेर भूइँसम्मै सेवा पुर्याउनुपर्छ भन्ने उनको मानसपटलमा स्पष्ट छ । त्यसैले उनले भनिन्, ‘मैले कहिल्यै पद हेरिन, कर्म हेरेँ । कर्मले डोर्याउँदै यहाँसम्म ल्याइपुर्यायो ।

काठमाडौंको पुतलीसडकमा जन्मिएकी अर्यालले डिल्लीबजारस्थित पद्म कन्या विद्याश्रम विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । दुई दाजु र दुई दिदीकी कान्छी बहिनी भएकाले सबैले पुलपुलाएर हुर्काएको क्षण उनका लागि सुनौलो समय थियो । बुबा अधिवक्ता हुनुहन्थ्यो भने आमा गृहिणी । तर, लगभग चार दशकअघिको नेपाली समाजमा उनलाई इञ्जिनीयर बन्छु भन्ने सोच कसरी आयो उनी यसको सबै श्रेय आफ्ना दुई इञ्जिनीयर दाजुलाई दिन चाहन्छिन् । उनीहरु त्यतिबेला इञ्जिनीयर भइसकेका थिए । स्कुल पढ्दापढ्दै भविष्यमा दाजुहरु जस्तै पेसा अगाल्ने रहर पलायो उनमा । छोरीले देखेको सपनामा मलजल लगाउने काम परिवारले पूरा रुपमा निर्वाह गरेकै कारण आफू आज नेृतत्व तहमा पुग्न सफल भएको उनले बताए ।

प्रवेशिका परीक्षा पास गरेपछि उनले त्रिचन्द्र कलेजमा विज्ञान सङ्कायको भौतिकशास्त्र विषयमा इन्टरमिडियट गरे । उनका अनुसार त्यतिबेला फिजिक्स पढ्ने युवती जम्मा तीन जना मात्रै थिए । तिमीहरुले पढेर के हुन्छ ? भन्दै नाक खुम्चाउने समाज थियो । यद्यपि उनले अर्काले के भन्छ भन्ने कुराको पछाडी कहिल्यै लागिन र कर्ममै जोड दिइन् । अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बिई गरिन् । त्यतिबेला इञ्जिनीयरिङ पढ्न जाने नेपाली विद्यार्थीमा उनी मात्रै एक महिला थिइन् ।

‘उतिबेला छोरीहरु विद्यालय जान त मुस्किल हुन्थ्यो, भारतसम्म जाने कुरा सजिलो थिएन’, उनले भनिन्,’म भाग्यमानी थिएँ, पढ्न खुलेर पाएँ ।’ भारतबाट अध्ययन गरी फर्किएलगत्तै २०४९ चैत २३ गतेदेखि उनी तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरिन् । २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिइन् । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको शिखरबाट तल नियाल्नुपर्दा अर्याललाई उही पहिलो पटक छाउनीमा पोष्टिङ भएको समय फ्ल्यासब्याक हुन्छ । ३२ वर्षअघिको जागिरे जीवन सम्झिदै उनले भनिन्,’ट्रान्समिटरमाथि चढ्नुपर्छ भनेर छाउनीमा महिला कर्मचारी जान मान्दा रहेनछन्, मैले आफैँले त्यो पोष्टिङ रोजेकी थिएँ ।’

नेपाल टेलिकममा उतिबेला ट्रान्समिसन विभाग, कम्युटर विभाग, स्वीचिङ विभाग थिए । अर्यालका अनुसार छाउनीमा ‘ट्रान्समिसन विभाग’ मा जाँदा कार्यरत हुँदा ट्रान्समिटरमा चढ्नुपथ्र्यो । त्यसबेला ककनी, धुलिखेल, नगरकोटदेखि दोलालघाटसमेत ट्रान्समिटरको काम गर्न पुग्नुपथ्र्यो । पाटनमा ५० मिटर अग्लो टावरमा चढ्ने कर्मचारीमा महिला अर्याल मात्रै थिइन् । त्यसैले अहिले पनि उनलाई चिनजानहरुले ‘टावर चढ्ने महिला’ भन्दै सम्झाउँछन् । ट्रान्समिटर चढेर कर्मचारीको बहादुरी देखाउन मात्रै होइन, अर्यालले मोबाइल एक्पोर्टको रुपमा बौद्धिक क्षमतासमेत प्रदर्शन गर्न अब्बल भइन् ।

महिलाले के गर्न सक्छ र रु धेरैको मनमा उठेका प्रश्नमाथि उहाँले व्यवहारबाटै उत्तर दिँदै आएकी छिन् ।’ उनलाई लाग्छ, कुनै पनि विज्ञता लैङ्गिकताले मापन गर्न सक्दैन । मैले यो सुरुदेखि नै कर्मबाट सिद्ध गर्दै आएको छु ।’ २०५६ सालदेखि मोबाइल सञ्चालन सुरु भयो । एक वर्षअघिदेखि नै मोबाइल सेवा ल्याउने योजनाबद्ध समूहमा आबद्ध अर्यालले थिङ्कट्याङ्कको समूहमा आबद्ध भई काम गरिन् । साथै, यससम्बन्धी प्रविधि ल्याउने योजनाकारका रुपमासमेत उनले धेरै समय बिताइन् । सुरुमा ५० हजार लाइनबाट सुरु भएको मोबाइल सेवा अहिले तीन करोडभन्दा बढी क्षमता विस्तार भएको छ । मोबाइलमा काम गर्ने इञ्जिनीयर पनि कम थिए उतिबेला । अहिले जनशक्तिमासमेत वृद्धि भएको छ ।

निजीस्तरका टेलिकम विश्वमा अनुभव बटुलेर नेपालमा अभ्यास गरेका थिए । उनीहरु बराबर नेपाल टेलिकमले प्रतिस्प्रर्धा गर्न योग्य बनाउनु भनेको कर्मचारीको मेहनत नै भएको उनले बताइन् । जसमा अर्याल पनि त्यो सङ्घर्षको एउटा योद्धा हुँ भन्न रुचाइन् । २०७० सालअघिसम्म नेपाल टेलिकम हार्डकपि सिस्टममा काम गथ्र्यो । जिल्लाभरिको नक्शा ल्याएर काम गर्दा झन्झटिलो प्रक्रिया हुन्थ्यो । त्यसपछि नेपालभरको नक्सालाई सफ्टवेयरमा राखेर कार्य सुरु गरेको अर्याल सम्झिन् । नेपाल टेलिकमका जे जति प्रगति भएका छन्, यी सबै कर्मचारीले अनुभव बटुल्दै आफ्नै क्षमता प्रदर्शन गरेर भएको अर्याल बताइन् । ‘नेपाल टेलिकम सरकारको भए पनि अरु देशको कम्पनीसँग प्रतिस्पर्धा गर्न योग्य बनेको छ’, उनले भनिन्,“बाहिरी कुनै खाले प्रशिक्षण नलिई अनुभवकै आधारमा परिश्रमले हामी यहाँसम्म आयौँ । जुन गर्वको विषय हो ।’अहिले नेपाल टेलिकमको सेवा तीव्र रुपमा विस्तार भएको उनले बताइन् ।

अहिले ट्रान्समिटरबाट सातवटै प्रदेशमा अप्टिकल फाइबर पुर्याउन सकेका छौँ भने अब गाउँघरमै फाइवर पुर्याउने काममा टेलिकम लागेको छ । माइक्रो वेभ टेक्नोलोजीबाट पनि देशभर सेवा सञ्चालित छ । दुर्गम ठाउँमा जहाँ विद्युत्को सुविधा छैन त्यहाँ सोलारबाट सेवा पुर्याउदै आएको उनले जानकारी दिइन् टेलिकमको केन्द्रीय कार्यालयअन्र्तगत विभिन्न विषय र क्षेत्रगत छ वटा चिफ अफिसर्स हुन्छन् । अर्यालले चिफ कर्मसियल अफिसरको रुपमा पनि दुई वर्ष काम गरिन् । त्यस पदमा रहँदा नेपाल टेलिकमको व्यापारलाई विस्तार गर्ने मुख्य जिम्मेवारी उनले सम्हालिन् । त्यसपछि चिफ कर्मसियल अफिसरसँगै केही समय मिडिया म्यानेजमेन्टको भूमिका निर्वाह गरिन् । प्याकेज सेवा ग्राहक समक्ष विस्तार गर्न उनको नेतृत्वले कदम चालेको थियो ।

अर्याल मिडिया समन्वय गर्नसमेत अब्बल भइन् । फलस्वरुप एनटिसीले चिफ टेक्निकल अफिसरको रुपमा काम गर्ने जिम्मेवारी दियो । यसैक्रममा तत्काल प्रबन्ध निर्देशकको पद खाली भयो । आइपरेका हरेक जिम्मेवारी सम्हाल्दासम्हाल्दै अर्याल २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भइन् । तत्काल प्रबन्ध निर्देशकको पद रित्त भएको परिस्थितिलाई पुन उनले सम्हाल्नुपर्ने भयो ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ को निर्णय (मन्त्रीस्तर) बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आइन् । 

एघार महिनासम्म निमित्त प्रबन्ध निर्देशक भई टेलिकमको सेवा गर्दै आउनुभएकी अर्यालले भदौ २२ गते प्रबन्ध निर्देशकमा पदवहाली गरिन् । संस्थाले आवश्यक परेको खण्डमा ट्रान्समिटर समेट चढ्न सक्ने अर्याल अहिले सबै जिम्मेवारी सम्हाल्न सक्ने काँध बलियो भएको छ । काम गर्नेहरुको लागि चुनौती सहज बन्दै जान्छ भन्ने उनको भोगाइले बुझाएको छ । अन्तर्राष्ट्रियस्तरमै दूरसञ्चारमा विप्रेषण घट्दो छ । इन्टरनेट भाइवर, ह्वाट्स एपजस्ता एपले फोन कल घट्दै गए । नेपाल टेलिकमलाई जनस्तरसम्म सुलभ तरिकाले पुर्याउनु मुख्य सेवा रहेको उनले बताइन् । सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य पूरा गर्न एनटिसीले सक्दो प्रयासमा जुटेको उनले सुनाइन् । ‘फाइवर टु द होम १ अर्थात अप्टिकल फाइबरबाट सेवा पुराउनमा एनटिसीले जोड दिएको छ । अर्यालका अनुसार ९० प्रतिशत कपरको सिस्टम विस्तापित भएर अहिले अप्टिकल फाइबरबाट देशभर सेवा प्रवाह भइरहेको छ । उनले भनिन्, ‘हामी इन्टरनेट सेवा गाउँगाउँमा पुर्याउन चाहन्छौँ । जसको लागि निरन्तर प्रयत्नरत छौँ ।’

परिस्थितिले दिएका जिम्मेवारी कुशलताका साथ निभाउन अर्याल अनुभवी हुन् । कार्यालयको जिम्मेवारी, परिवार सम्हाल्दै उनले पढाईमा पनि निरन्तरता दिइन् । यसै दौरान उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरे । सङ्घर्ष गरेरै ट्रान्समिटर र मोबाइल एक्पोर्टको रुपमा आफूलाई अब्बल बनाएकी उनले महिलाले के गर्न सक्छ र ? भन्नेहरुका लागि शब्दले होइन, व्यवहारबाटै उत्तर दिदै आएकी छिन् । उनलाई लाग्छ, कुनै पनि विज्ञता लैङ्गीकताले मापन गर्न सक्दैन । मैले यो सुरु देखि नै कर्मबाटसिद्ध गर्दै आएकी छु ।’

प्रतिक्रिया