प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ पूरा

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, स्पेन र श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित राजदूत क्रमशः लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे, सनिल नेपाल र रामकृष्ण भट्टराईको संसदीय सुनुवाइ गरेको हो ।
गत साउन १४ गतेको मन्त्रिपरिषद्ले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उनीहरु सबैको संसदीय सुनुवाइ सकिएको छ । बैठकमा प्रस्तावित राजदूतले आ-आफ्नो शैक्षिक योग्यता, क्षमता, अनुभव, रुची, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारीका लागि प्रस्ताव गरिएका मुलुकबीचको सम्बन्ध, उच्चस्तरीय भ्रमण, लगानी, व्यापार, पर्यटन, आर्थिक कूटनीतिक, सहयोग तथा निर्यातका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराए ।
त्यसअवसरमा संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीले नेपाल, नेपाली जनता, नेपाल सरकारको प्रमुख कार्यसूची, प्राथमिकता, चासो, हित, योजना, समग्र विकास अवस्था र आवश्यकताबारे अमेरिकी सरकारलाई जानकारी गराउने बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य, वन, शान्ति प्रक्रिया र विश्वशान्ति लगायतका क्षेत्रमा नेपालको सफलताबारे अमेरिकालाई जानकारी गराउँदै दुई देशबीच सद्भाव, समझदारी, विश्वास र सम्बन्धका नयाँ आयाम विस्तार गर्न सकिने मेरो विश्वास छ ।’
अमेरिकामा नेपाल सरकारका तर्फबाट कूटनीतिक सेवाका कार्य, नेपाली जनताको हित संरक्षण र सुरक्षामा ध्यान दिने जानकारी दिँदै उनले अमेरिकाको सहकार्यमा शान्ति, साझा समृद्धि, वातावरणीय सन्तुलन र न्यायपूर्ण विश्व व्यवस्थालाई दिगो बनाउँदै नेपालको प्रभावकारी उपस्थिति र भूमिका वृद्धि गर्न सदा प्रयत्नशील रहने विश्वास दिलाए ।
संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत घिमिरेले नेपालमा पहिलो कूटनीतिक नियोग स्थापना गर्ने बेलायतसँगको दुई पक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान जनस्तरको सम्बन्ध बढाउँदै उच्च तहको भ्रमण आदानप्रदानलाई प्राथमिकता दिएर काम गर्ने बताए ।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र नेपाल र श्रीलङ्काबीच रही आएको बहुआयामिक सम्बन्धलाई समधुर र सुदृढ तुल्याउँदै आर्थिक कूटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने बताए ।
उनले नेपाल र श्रीलङ्काबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ र सार्थक तुल्याउँदै लुम्बिनी विकासका लागि समेत आर्थिक सहयोग जुटाउने बताए । प्रस्तावित राजदूत भट्टराईले श्रीलङ्काबाट नेपालको तीर्थाटन गराउन प्रचार प्रसारको माध्यमबाट उत्साहित तुल्याउने विश्वास दिलाए ।

प्रतिक्रिया