वाणिज्य बैंकहरुको नाफा ९ अर्ब माथि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो एक महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बीस वाणिज्य बैंकहरुले सो नाफा कमाएका हुन् । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए ।
यो अवधिमा ग्लोबल आईएमई बैंकले सर्वाधिक ८९ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । त्यस्तै, नबिल बैंकले ८३ करोड, कृषि विकास बैंकले ७१ करोड, हिमालयन बैंकले ५८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ५७ करोड रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै, प्रभु बैंकले ५३ करोड प्राइम कमर्शियल बैंकले ५० करोड, कुमारी बैंकले ५० करोड, लक्ष्मी बैंकले ४३ करोड एनएमबि बैंकले ४२ करोड, एभरेष्ट बैंकले ४२ करोड, सानिमा बैंकले ३८ करोड नाफा कमाएको देखिएको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड, सिद्धार्थ बैंकले ३४ करोड, सिटिजन्स बैंकले ३४ करोड, नेपाल एसबीआई बैंकले ३३ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३१ करोड, एनआईशी एशिया बैंकले २६ करोड, नेपाल बैंकले २२ करोेड र माछापुच्छ्रे बैंकले २० करोड रुपैयाँ नाफा कमाएका छन् । यो अवधिमा १३ वटा बैंकको नाफामा वृद्धि हुँदा ७ वटा बैंकको नाफा घटेको देखिएको छ । अघिल्लो वर्षको पहिलो महिनाको आधारमा हेर्दा यसपटक नाफामा ६ वटा कम्पनीको पोजिसन स्थिर देखिएको छ । ग्लोबल आईएमई बैंक र नबलि बैंक पहिलो र दोस्रो स्थानमा यथावत रहँदा हिमालयन बैंक चौथो, प्राइम बैंक सातौं, एनएमबि बैंक र एभरेष्ट बैंक दशौं र एघारौं स्थानमा यथावत छन् ।
यसपटक कृषि विकासले १० र प्रभु बैंकले ८ स्थानमा सुधार गरेर क्रमशः तेस्रो र छैटौं स्थान बनाएका छन् । सानिमा बैंकले ५ स्थान सुधार गरेर बाह्रौं, नेपाल एसबीआई बैंकले ४ स्थान सुधार गरेर सोहौं तथा सिटिजन्स बैंक तीन स्थान सुधार गरेर नाफाको आधारमा पन्ध्रौं स्थानमा छन् । त्यस्तै, सिद्धार्थ बैंकले एक स्थान सुधार गरेर चौधौं स्थान हासिल गरेको छ ।
यसपटक एनआईसी एशिया ९ स्थान तल झरेर अठारौं, राष्ट्रिय वाणिज्य बैंक ७ स्थान झरेर तेह्रौँ, नेपाल बैंक ७ स्थान झरेर उन्नाइसौं स्थानमा छन् । कुमारी बैंक तीन स्थान झरेर आठौं, इन्भेष्टमेन्ट बैंक २ स्थान झरेर पाँचौं तथा लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंक एक-एक स्थान तल झरेर नवौं, सत्रौं र बीसौं स्थानमा कायम भएका छन् ।
प्रतिक्रिया