आइतबार, असोज २७, २०८१

नेपाली नोटको ७९ वर्षे इतिहास

सुनिल उलक २०८१ असोज २ गते १४:००

काठमाडाैं । नेपालमा कागजी नोट छापिन थालेको पनि ७९ वर्ष पुरा भएको छ ।

बि.सं. २००२ असोज १ गते नेपालमा पहिलो पटक कागजी नोट प्रचलनमा आएको थियो । सदर मुलुकी खानाबाट खजाञ्ची जनकराज (पण्डित) को हस्ताक्षर भएको रु ५, रु १० र रु १०० का नोटहरू निष्कासित भएका थिए । तर थोरैलाई मात्र थाहा होला त्यति बेला खजाञ्चीको रूपमा भरतराज पण्डित पदासीन थिए । 

राजगुरु खलकबाट नै सदर मुलुकी खानाको खजाञ्ची नियुक्ति गरिने हुँदा बि.सं. १९९० मा यसको गठनको समय पण्डित जनकराज पाण्डेलाई सदर मुलुकी खानाको खजाञ्ची नियुक्ति गरिएको थियो । उनकै समयमा कागजी नोट निकाल्ने तैयारी हुँदै थियो । तर बिचैमा मूल राजपुरोहित बन्न नपाएको हुँदा उनले बि.सं. १९९७ मा राजिनामा दिए । तर उनको समयमा नै नेपालमा कागजी नोट छाप्ने विषयमा तैयारी हुँदै थियो । यसर्थ उनकै सम्मानमा उनकै हस्ताक्षरमा २००२ असोज १ गते रु ५ को २ लाख थान रु ५ को क ०००००१ देखि क २००००० सम्म, रु १० को १ लाख थान क ०००००१ देखि क १००००० सम्म र रु १०० को ५ हजार थान क ०००००१ देखि क ००५००० सम्मको नोट निष्कासन भएको थियो । जनकराजकै हस्ताक्षरित अन्य शृङ्खलाका नोटहरू त्यसपछि विभिन्न मितिमा निष्कासन भएका थिए । जस अनुसार रु ५ को जम्मा ६ लाख ६० हजार, रु १० को ३ लाख २० हजार र रु १०० को ४५ हजार थान नोट निष्कासन भएको थियो । 

बि.सं. २००४ साल पछि खजाञ्जी भरतराजको हस्ताक्षरमा रु ५, रु १० र रु १०० का नोटहरू निष्कासित भएको थियो भने २००९ सालबाट नरेन्द्रराजको हस्ताक्षरमा रु १, रु ५, रु १० र रु १०० का नोटहरू निष्कासित भए । यी सबै नोटहरू भारतको नासिक स्थित India Security Press मा छापिएका थिए । नासिकमा रहेको इन्डिया सेक्युरिटी प्रेसले कागजी नोटहरू छापे बापतको रु ५ को एक हजार थानको १२ रुपैयाँ ८ पैसा, रु १० को एक हजार थानको १७ रुपैयाँ ८ पैसा र रु १०० को एक हजार थानको ४५ रुपैंया लिएको थियो । 

हुन त धेरैलाई थाहा नहुन सक्छ । तत्कालीन समयमा श्री ३ जुद्ध शमशेरले कागजी नोट छाप्ने निर्णय लिनुका कारण विश्वमा कागजी नोटहरूको प्रचलन हुन थालेको हुँदा नेपालमा पनि निकाल्नु पर्दछ भनेर निकालेका थिएनन् । चाँदीको सिक्काको बदलामा ठुलो रकमको खर्च गरेर कागजी नोट निकाल्नुको खास कारण त्यस समय चाँदीको मूल्य एक्कासि बढ्नु थियो । विश्व नै दोस्रो विश्वयुद्धका कारणले आर्थिक मन्दी झेलिरहेको समय विश्व बजारमा चाँदीको कृत्रिम अभाव सिर्जना हुँदा चाँदीको मूल्य अकासिन थाल्यो । बि.सं. १९९९ को दसैँ तिर प्रति किलो २४७ अमेरिकी डलर रहेको चाँदीको मूल्य अचानक बढ्न थाल्यो । चैतमा पुग्दा २८० डलर पुग्यो । यसरी विश्व बजारमा चाँदीको मूल्य बढेसङै भारतीय बजारमा चाँदीको माग निकै बढ्न थाल्यो । नेपालमा छापिएका चाँदीका सिक्का चोर बाटो भएर भारतमा पुग्न थाल्यो । निकै खर्चिएर बनेका चाँदीका सिक्का भारतमा गालेर महँगोमा बेच्न थालियो । यसरी नेपालमा सिक्काको अभाव हुन थाल्यो । त्यस बेला नेपाल सरकारलाई दोहोरो समस्या पर्‍यो । महँगोमा चाँदी किनेर सिक्का छाप्ने कि अभावमा राख्ने । महँगोमा खरिद गरेर सिक्का छापे पनि सिक्का त भारतमा चोरी भएर जाने डर रहने नै भयो । या त सिक्काको तौल कम गरेर पातलो सिक्का छापेर बजार मूल्य भन्दा महँगो बनाउनु पर्‍यो । यो पनि गर्न सकिँदैनथ्यो । एक रुपैयाँको सिक्का १ तोलाको हुनुपर्दथ्यो । जसले गर्दा महँगिँदै गएको चाँदीबाट सिक्का छाप्नु कठिनाइ हुन थालेपछि विकल्पमा भारतमा रहेका अङ्ग्रेज भाइसराय संग सल्लाह गरी श्री ३ जुद्ध शमशेरले भारतमा नै कागजी नोट छाप्ने योजना बनाएका थिए । 

बि.सं. २००० को असोजमा बेलायती राजदूत मार्फत पठाइएको पत्रमा पचास लाख रुपैयाँ बराबरको (रु ५ को १५ लाख रुपैयाँ बराबर, रु १० को रु १५ लाख रुपैयाँ बराबर र रु १०० को २० लाख रुपैयाँ बराबर) छिट्टै छापिदिन अनुरोध गरिएको थियो । भारतको नासिकमा रहेको सेक्युरिटी प्रेसले पुससम्ममा नोटको डिजाइन बनाएर पठाइसकेका थिए । तर नेपालमा डिजाइन स्वीकृत गर्न तथा कुन खजाञ्चीको हस्ताक्षर गर्ने भन्ने निर्णय लिन ढिला हुँदा नोट बल्ल २००१ को माघमा छाप्न थालियो । यसरी ढिलो छापिएका नोटहरू २००२ साल भदौ ८ गते नेपाल सरकारलाई पठाइएको थियो । २००२ को भदौ ३० गते गोरखापत्र मार्फत सर्वसाधारणलाई कागजी नोट निष्कासनको जानकारी दिएको थियो । यसरी २००२ को असोज १ गते नेपाल सरकारले सर्वसाधारणका लागि पहिलो पटक कागजी नोटहरूको निष्कासन गर्न सफल भयो । यसरी निष्कासन भएका कागजी नोटहरूको छपाइ शुल्क रु १४७७५, खजाञ्ची भरतराजले भारतीय सेक्युरिटी प्रिन्टिङ प्रेसलाई असोज २६ गते पठाएका थिए ।

सधैँ चाँदीको सिक्का बोकेर छनछन गर्दै हिँड्न बानी परेका नेपालीहरूले कागजका नोटहरू सहजै स्वीकार गर्न नै सकेन । सरकारले तलबहरू कागजी नोटबाट नै दिन थाल्यो । बिस्तारै सहर बजारमा कागजी नोट स्वीकार गर्न थाले पनि ग्रामीण इलाकामा भने कागजी नोट स्वीकार गर्न निकै समय लाग्यो । भारतीय सीमा नौटनवा हुँदै अन्नपूर्ण हिमाल आरोहणका लागि आएका मोरिस हर्जोग र उनको टिमले भरियाहरूलाई पैसा तिर्न भारतीय रुपैयाँको सहारा लिएका थिए । एडमण्ड हिलारीले भरियाहरूका लागि पैसा तिर्न काठमाडौँबाट नै १२ जना भरिया बराबर सिक्का बोकाएर लगेका थिए । भरियाहरूले कागजी नोट लिन अस्वीकार गर्दा सिक्काकै व्यवस्था मिलाएर एडमण्ड हिलारीको टोली सगरमाथा आरोहणका लागि गएका थिए ।

प्रतिक्रिया