विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

संयुक्त राष्ट्रसङ्घ । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्व नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दैछन् ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारको ‘भविष्यको शिखर सम्मेलन’ मा राष्ट्रपति, प्रधानमन्त्री, राजा र मन्त्रीहरूलाई आफ्नो प्रारम्भिक ‘स्टेट अफ द वर्ल्ड’ भाषणको पूर्वावलोकन गर्दै भने, ‘हाम्रो संसार लिकबाट हटिरहेको छ र हामीलाई पुनः लिकमा फर्कन कठोर निर्णयहरूको आवश्यकता छ ।’
उनले ‘मध्यपूर्वदेखि युक्रेन र सुडानसम्म भड्किरहेका र बढ्दै गएका द्वन्द्वहरूको अन्त्य देखिँदैन’ भने । उनले विश्वव्यापी सुरक्षा प्रणाली ‘भू–राजनीतिक विभाजन, आणविक शक्ति प्रदर्शन तथा नयाँ हतियार र युद्धका मैदानहरूको वृद्धिले धम्की’ मा परेको बताए । महासचिव गुटेरेसले असमानता, उदीयमान अस्तित्वको खतरामा प्रतिक्रिया दिन प्रभावकारी विश्वव्यापी प्रणालीको अभाव र जलवायु परिवर्तनको विनाशकारी प्रभावबारे पनि चर्चा गरे ।
मङ्गलबार उद्घाटन हुने महासभाको उल्लेखनीय क्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेनको सम्भवतः विश्व मञ्चमा अन्तिम प्रमुख उपस्थिति हुनेछ । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले गत साता पत्रकारहरूलाई करिब दुई अर्ब मानिस द्वन्द्व प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने भन्दै महासभामा अमेरिकाको ध्यान ‘युद्ध सङ्कट’ अन्त्य गर्नेमा केन्द्रित हुने बताए ।
उद्घाटनको दिन अन्य वक्ताहरूमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान, जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियान सहभागी हुनेछन् । इरानी राष्ट्रपति पेजेस्कियानले सोमबार इजरायलमाथि मध्यपूर्वमा व्यापक युद्ध खोज्न र आफ्नो मुलुकलाई विस्तृत द्वन्द्वमा लैजान ‘जाल’ थापेको आरोप लगाए ।
उनले इजरायललाई दोष दिँदै गत साता लेबनानमा पेजर, वाकी–टाकी र अन्य विद्युतीय उपकरणहरूको घातक विस्फोटतर्फ सङ्केत गरे । साथै उनले आफ्नो सपथ ग्रहणको केही घन्टापछि जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यालाई पनि सङ्केत गरे । रासस/एपी
प्रतिक्रिया