दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

काठमाडौं । बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।
दसैँका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीमा काठमाडौँ छाड्ने र भित्रनेको सङ्ख्या पनि लाखौँमा हुने गरेको छ । तर के लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त ? जानकारहरु सडकको अवस्था राम्र्रो नभएको बताउँछन् । कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ । तर दसैँसम्म ती काम पूरा हुनेमा उनीहरुको शङ्का छ । विशेषगरी काठमाडौँ भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । सडक बिग्रेको अवस्थामा छ । अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ ।
तर पनि दसैँसम्म पूरा हुने अवस्था भने देखिन्न । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ ।
विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताए । ‘खानेपानी तथा विद्युत्का कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरुकै हो’, उनले भने, ‘काठमाडौँ उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दसैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्नका लागि सडक सुधारको योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए । ‘मन्त्री दाहालको संयोजकत्वमा सातै प्रदेशका सरकारका सम्बन्धित मन्त्रीसहितको समिति बनेको छ, समितिको छलफल पनि भइरहेको छ’, उनले भने, ‘सरकार सडक सुरक्षालाई लिएर गम्भीरताका साथ काम गरिरहेको छ ।’ उनका अनुसार दसैँसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ ।
जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ । ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए ।
चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताए । सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि रु छ अर्ब बजेट विनियोजन गरेको जनाइएको छ । सडक विभागका अनुसार विभाग मातहत मुलुकभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ । जसमध्ये सात हजार २६ किलोमिटर सडक मर्मतसम्भार हुने विभागका सूचना अधिकृत अमित शर्मा भुसालले जानकारी दिए ।
पटके मर्मतसम्भार हुने (तत्काल मर्मत गर्ने) सडक पाँच हजार सात सय ४६ किलोमिटर रहेको र आवधिक र पुनर्वासबाहेक मर्मत गर्नुपर्ने सडक छ हजार किलोमिटर रहेको उहाँको भनाइ छ । “दसैँअघि तीन हजार आठ सय ५६ किमी सडकलाई खल्डारहित बनाउने योजना छ । जसमध्ये सोमबारसम्म सात सय ७२ किमीमा काम भइसकेको छ ।” उहाँका अनुसार सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि एक सय ११ वटा ठेक्का लगाइएकामा हालसम्म जम्मा चार वटा ठेक्का सम्पन्न भइसकेका छन् ।
उनका अनुसार काठमाडौं भित्रने प्रमुख मार्गमा नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण भत्किएका सडक निर्माणको काम भने दसैँ अगाडि पूरा हुने अवस्था छैन । ‘नागढुङ्गा सडकखण्ड ममर्त नभइ स्तरोन्नति गरिने भएकाले दसैँ अगाडि यो आयोजना पूरा हुने अवस्था छैन’, उनले भने, ‘मुग्लिङ–पोखरा सडकखण्डको पनि काम सकिने अवस्था नभएकाले यात्रामा केही असहजता भने हुने अनुमान छ ।’
पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको सवारीसाधन गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा बर्सेनि यात्रुले दुःख पाउने गरेको बताए । रासस
प्रतिक्रिया