शुक्रबार, वैशाख २६, २०८२

बाँदरका कारण रित्तिँदै बस्ती

नेपालखोज २०८१ असोज १० गते १५:२३

भोजपुर । दिनानुदिन बाँदरको उप्रदो बढ्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । बाँदरका कारण जिल्लाका तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्यामा परेका हुन् । बाँदरले खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि बस्ती नै छाड्नुपर्ने अवस्था रहेको किसानहरुको भनाइ छ ।

बाँदरका कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत बाँदरले दुःख दिने गरेको स्थानीयको भनाइ छ । बाँदरको उप्रदो बढ्न थालेपछि किसानले बस्ती नै छाड्न थालेका छन् । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेको स्थानीयको भनाइ छ ।

बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसाद राई गाउँपालिका दलगाउँका स्थानीय दलबहादुर मगरले बताए । बाँदरको आतङ्क बढ्दा बस्ती नै खाली हुने अवस्था आएको उनको भनाइ छ । ‘किसानको मुख्य शत्रु नै बाँदर बनेको छ’, उनले भने, ‘बाँदरका कारण उर्वर जमिन बाँझिएका छन्, बाली लगाएर पनि बाँदरबाट बचाएर खाने अवस्था छैन, छिनभरमा वर्षदिनका मेहनत नष्ट पार्छन् ।’

बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले वस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका उनले बताए । दश-बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको टेम्केमैयुङका स्थानीय महेन्द्र राईले बताए । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।

‘बाँदरबाट बचाएर अन्नबाली खाने अवस्था छैन’, उनले भने, ‘बाँदरले अन्नबाली पाक्न दिँदैन, कटेरा बनाएर हेरचाह गरेर पनि सम्भव छैन ।’ बाँदर मकैको थाग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको किसान राईको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समय टेर्न छाडेको उनको भनाइ छ ।

प्रतिक्रिया