आइतबार, वैशाख २८, २०८२

अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ : मन्त्रालय

नेपालखोज २०८१ असोज १३ गते १८:२३

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोगगरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ । उनले भने, काठमाडौं उपत्यका जोड्ने सडकमा सामान्य क्षति भएका स्थानमा मर्मतगरी आजै अबेरसम्म यातायात सञ्चालनमा ल्याउन निर्देशन भएको छ । मन्त्रालयले राष्ट्रिय महत्वका राजमार्गसहित बढी क्षति भएका सडकको अवरोध हटाई यातायात सञ्चालन गर्ने कामलाई मन्त्रालयले प्राथमिकता दिएको प्रवक्ता ढकालले बताए ।

उनका अनुसार बाढी–पहिरोबाट छ वटा पुल पूर्ण रुपमा क्षति भएको छ । बाढी–पहिरोबाट क्षति भएका सडक विभाग मातहतका आयोजनालाई जतिसक्दो चाँडो मर्मत गरी सञ्चालन ल्याउने र त्यो सम्भव नभएको अवस्थामा वैकल्पिक उपायसमेतका लागि कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले खाल्डाखुल्डीसहित बढी विगिएको काठमाडौँस्थित नागपोखरी क्षेत्रको सडक र उपत्यकाभित्रका नदी किनारका बढी प्रभावित करिडोर सडकमा यातायात सहज रुपमा सञ्चालनमा केही समस्या रहेको प्रतिक्रिया दिए । करिडोर सडकमा खोलाबाट पसेको हिलो पन्छाउने काम तदारुकताका साथ भइरहेको छ ।

प्रतिक्रिया