दाहालद्वारा दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ । आज तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उनले सम्मान गरेका हुन् ।
तामाङले शनिवार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी छ वर्षीया मेघनालाई उद्धार गरेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल प¥याएको अवस्थामा तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गरेका थिए ।
उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष दाहालले साहसी काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा तमाङलाई बधाई तथा धन्यवाद दिए । सङ्कटको बेला नै बहादुरको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताए ।
काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । त्यस अवसरमा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकामा खुसी लागेको बताए । आफू बिहान खोला हेर्न आएको बेला मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको उनले बताएका थिए ।
तामाङले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको सुनाउनुभयो । यसैबीच माओवादी केन्द्र एसिया सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख बराबरको सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र नेता टिबी पाठकले रु पाँच लाख बराबरको चेक अध्यक्ष दाहाललाई हस्तान्तरण गरे ।

प्रतिक्रिया