सोमबार, असार १६, २०८२

स्पेनको क्यानरी टापूमा हराएका आप्रवासीको खोजी पुनः सुरु

नेपालखोज २०८१ असोज १४ गते ७:५७

उद्धार टोलीहरूले आइतबार स्पेनको क्यानरी टापू नजिकै कम्तीमा ४८ आप्रवासीको खोजी पुनः सुरु गरेका छन् ।

आप्रवासीहरू अघिल्लो दिन उनीहरूको डुङ्गा पल्टिएर हराएका थिए । डुङ्गा पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । सामुद्रिक उद्धार टोलीहरूले एल हिएरो टापू नजिकै पानीमा उनीहरूको खोजी गरिरहेका छन् तर जीवित फेला पार्ने आशा अत्यन्त कम छ ।

अफ्रिकाको सामुद्रिक तटमा हुने यस्ता प्रकारका विपत्तिहरूमा यो पछिल्लो घटना हो । स्पेनको सामुद्रिक उद्धार संस्थाका अनुसार खोजी अभियान पुनः सुरु गरिएको छ । क्यानरी क्षेत्रका अध्यक्ष फर्नान्डो क्लाभिजोले शनिबार राति पत्रकारहरूलाई ४८ जनाको मृत्यु भएको अनुमान गरिएको बताए ।

‘आगामी दुई वा तीन दिनमा धेरै शव बग्दै आउने सम्भावना छ’, उनले भने । मौरिटानियाको नौआदिबौबाट करिब आठ सय किलोमिटर टाढाबाट यात्रा सुरु गरेको उक्त डुङ्गा एल हिएरो नजिकै पल्टिएको थियो । दुर्घटना हुँदा २७ आप्रवासीको उद्धार गरिएको थियो भने नौ शव फेला परेको थियो ।

आप्रवासीहरूले आफैँ आपत्कालीन सेवामा फोन गरपछि उद्धारकर्मीहरू उनीहरूलाई सहयोग गर्न पुगेका बेला उक्त त्रासदी भएको स्पेनी अधिकारीहरूले बताएका छन् । अस्थिर डुङ्गाको एकभागमा आप्रवासीहरू झुम्मिएपछि डुङ्गा पल्टिएको थियो । आप्रवासीहरू दुई दिनदेखि खाना र पानीबिना रहेकाले उनीहरूको हडबडाहटलाई बढाएको हुनसक्ने क्यानरी टापू प्रिफेक्चरका प्रमुख एन्सेल्मो पेस्टानाले ला एस्ताका बन्दरगाहरूमा पत्रकारहरूलाई बताए ।

स्पेनी सरकारको स्रोतहरूका अनुसार डुङ्गामा पहिला घोषणा गरिएको ८४ जनाको सट्टा ९० जना यात्रु भएको हुनसक्ने बताइएको छ । यसबाट हराएकाहरूको सङ्ख्या ५० भन्दा बढी हुनसक्छ । सेनेनगल नजिकै सेप्टेम्बरको सुरुमा ३९ आप्रवासीको मृत्यु भएको घटनापछि यो विपत्ति आएको हो ।

सेनेगल नजिकै आप्रवासीहरूको डुङ्गा क्यानरीतर्फ यस्तै यात्रामा डुबेको थियो । आप्रवासीहरूले क्यानरीबाट मुख्य युरोप पुग्ने आशा गर्दछन् । हालैका वर्षहरूमा पश्चिम अफ्रिकाबाट अटलान्टिक हुँदै युरोप पुग्ने प्रयासमा अत्यधिक भीड र प्राय जीर्ण डुङ्गाहरू मार्फत यात्रा गर्दा हजारौँ आप्रवासीको मृत्यु भएको छ ।

प्रतिक्रिया