क्रिकेटमा सर्वाधिक “म्यान अफ द म्याच” जित्ने को ?
काठमाडाैं । हिजो राति भएको ओमान सँगको खेलमा गुलसन झा म्यान अफ द म्याच घोषित भए । क्रिकेटको प्रतिस्पर्धामा सम्बन्धित खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो उपाधि प्रदान गरिन्छ । हेरौँ विश्व तथ्याङ्कमा यो उपाधि जित्नेहरूमा सबैभन्दा अगाडि को छन्?
सचिन तेन्दुलकरले सबैभन्दा धेरै म्यान अफ द म्याच अवार्डको विश्व कीर्तिमान राखेका छन् र उनका स्वदेशी विराट कोहली यो रेकर्ड तोड्ने क्रममा सबैभन्दा नजिक छन्।
सचिनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १९८९ देखि २०१३ सम्म अधिकतम ६६४ खेल खेलेका छन्, जसमा उनले ७६ पटक म्यान अफ द म्याचको अवार्ड पाएका छन्। सचिनले टेस्टमा १४ पटक र एक दिवसीयमा ६२ पटक यो अवार्ड जितेका छन् । एक दिवसीयमा ६२ पटक म्यान अफ द म्याच बनेर सचिन यस मामिलामा विराटभन्दा धेरै अगाडि छन्।
टिम इन्डियाका धुरन्धर ब्याट्सम्यान विराट कोहली यो सुचिको दोस्रो स्थानमा छन् । कोहलीले आफ्नो सम्पूर्ण क्रिकेट करियरमा ५३४ खेलमा ६७ पटक ‘प्लेयर अफ द म्याच’ को अवार्ड जितेका छन् । कोहलीले टेस्ट क्रिकेटमा १० पटक, एक दिवसीयमा ४१ पटक तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६ पटक ‘प्लेयर अफ द म्याच’ बनेका छन्। विराटले टी–२० बाट सन्यास लिएका छन्। सचिनको कीर्तिमान तोड्न उनीसँग टेस्ट र एक दिवसीय क्रिकेट मात्र बाँकी छ ।
तेस्रो स्थानमा श्रीलङ्काका पूर्व विस्फोटक ब्याट्सम्यान सनथ जयसूर्या छन् । जयसूर्याले आफ्नो करियरमा श्रीलङ्काका लागि ५८६ खेल खेलेका छन् । यसबिच उनी ५८ पटक ‘प्लेयर अफ द म्याच’ चुनिए । जयसूर्या टेस्ट क्रिकेटमा ४ पटक, एक दिवसीयमा ४८ पटक र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ पटक ‘प्लेयर अफ द म्याच’ चुनिएका छन्।
यस क्रममा दक्षिण अफ्रिकाका ज्याक कालिस (५१९ खेल, ५७ अवार्ड) चौथो र श्रीलङ्काका कुमार संगकारा (५९४ खेल, ५० अवार्ड) पाँचौँ स्थानमा छन् । हालका भारतीय कप्तान रोहित शर्मा ४८४ खेलमा ४२ पटक यो अवार्ड जितेर नवौँ स्थानमा छन्।
प्रतिक्रिया