हिमानी शाह र उनको माइती परिवारको नालीबेली

पूर्व अधिराजकुमारी हिमानी शाहलाई कतिपयले भारतीय भन्ने गरिए पनि उनकी आमा तथा बज्यै भने नेपाली नै थिइन् । राजा त्रिभुवनको जेठी छोरी अधिराजकुमारी त्रैलोक्य राज्य लक्ष्मी शाहको जन्म वि.सं. १९७९ मङ्सिर ६ गते मङ्गलवारका दिन नारायणहिटी दरबारमा नै भएको थियो । तर उनको जन्म मङ्गलवार तथा मूल पनि परेको हुँदा बाबुआमालाई नराम्रो हुन सक्ने भन्दै दरबार बाहिर हुर्काउन पठाउने ज्योतिषका सल्लाहले फुपू रमा राज्य लक्ष्मी कहाँ पठाइएको थियो । मूल परेर फुपू कहाँ नै हुर्किएकी अधिराजकुमारी त्रैलोक्य राज्य लक्ष्मीसँग विवाह गर्न योग्य वर नै पाइएन । दाजु महेन्द्रको विवाह भएर पनि ल्याइतेबाट एक छोरा र ब्याइते रानी इन्द्र राज्य लक्ष्मीबाट दुई छोराको जन्म भइसकेको थियो । साथै दुई भाइ हिमालय र वसुन्धराको समेत विवाह भइसकेको थियो ।
अन्तमा २६ वर्षको उमेरमा भारत राजस्थान राज्यको सानो राज्य सिकरका राजकुमार हरदयाल सिंहसंग भयो । हरदयाल सिंहको यो दोश्रो विवाह थियो । पहिलो विवाह श्री ३ देवशम्शेरको सातौ छोरा मसुरी शमशेर जबराको छोरीसंग लखनउमा भएको थियो । तर यो विवाहमा दुइ बिच मेल नभए पछि एकअर्कोसंग छुट्टिएका थिए । यसरी पहिलो विवाह असफल भएर लामो समय दोश्रो विवाह गरेर नबसेका राजकुमार हरदयाल सिंहलाई नेपालको राजाकै छोरी राजकुमारीसंग विवाहको प्रस्ताव आएपछि यसलाई सहर्ष स्विकार गरेर २००४ सालको माघमा विवाह गरेका थिए ।
राजकुमार हरदयाल सिंह र राजकुमारी त्रैलोक्य राज्य लक्ष्मी सिंहको कुनै सन्तान भएन । विवाहको ७ वर्ष पछि बुबा राजा कल्याण सिंहको निधन नहुँदै २०११ असार १ गते राजकुमार हरदयाल सिंहको निधन भयो । हरदयाल सिंह राजा बन्नै पाएनन् । सिकरको दरवारमा बिधवा राजकुमारीका रुपमा सासु ससुराको सेवा गर्दै राजकुमारी त्रैलोक्य राज्य लक्ष्मी रहिन् । अन्तमा २०१६ भदौ ३१ गते राजा कल्याण सिंहको सदेक्षाले राजकुमारी त्रैलोक्य राज्य लक्ष्मीले सिकरकै सानो गाउँ सरवरीमा जन्मिएका विक्रम सिंहलाई धर्मपुत्रका रुपमा स्विकार गरे । २०२४ कार्तिक १९ गते राजा कल्याण सिंहको निधन पछि विक्रम सिंहलाई सिकरको राजा घोषणा गरियो ।
२०२७ सालमा राजकुमारी त्रैलोक्य राज्य लक्ष्मी सिंह १२ वर्षका धर्मपुत्र विक्रम सिंहका साथ माइती देश नेपाल फर्किइन् । नेपाल फरकनु अगाडि सिकरमा रहेको सम्पूर्ण दरवार, जायजेथा तथा अन्य सम्पति सबै राजकुमार हरदयाल सिंह त्रैलोक्य राज्यलक्ष्मी देवी चैरिटेबल ट्रस्टू का नाममा दान गरेकी थिइन् ।
नेपालमा नै विक्रम सिंहको विवाह बझाङका राजा बिक्रम बहादुर सिंहका नाति तथा कर्णेल इन्द्रबहादुर सिंहका छोरी बिपुला सिंहसंग २०२९ सालमा भएको थियो । राव राजा बिक्रम सिंह तथा रानी बिपुला सिंहको तीन छोरीको जन्म भएको थियो । तीन छोरी जेठी रेश्मा सिंहको प्रविण राणा, हिमानी सिंहको पारश शाहसंग र कान्छी अर्पणा सिंहको सुशिल जंग शाहसंग भएको थियो । हिमानी शाहकी आमा बिपुला सिंहको केवल २२ वर्षको उमेरमा नै निधन भएको थियो । बुबा विक्रम सिंहले नै तीन छोरीलाइ हुर्काएका थिए । विक्रम सिंहले अर्को विवाह गरनन् ।
देशको शाहजादी समेत भएकी हिमानी शाहको जन्म २०३३ असोज १५ गते भएको थियो । २०५६ माघ १० गते हिमानी शाहको विवाह तत्कालिन अधिराज कुमार ज्ञानेन्द्र शाहको छोरा अधिराजकुमार पारश शाहसंग भएको थियो । २०५८ जेठ १९ गते राजदरवार हत्याकाण्ड भए पछि राजा विरेन्द्रको वंशनाश भयो । यसपछि राजा विरेन्द्रका भाइ अधिराजकुमार ज्ञानेन्द्र नेपालका राजा बने भने अधिराजकुमार पारस युवराज पारश शाह तथा हिमानी शाह युवराज्ञी हिमानी शाह बनिन् । तर देशमा गणतन्त्र आएपछि भने देशमा राजा नरहने भयो । राजपरिवारका सदस्यहरु आमजनता सरह नै भए ।
हिमानी शाहले भने आफ्नो दैनिक जीवन सामाजिक कार्यमा लगाउने अठोट स्वरुप २०६७ को असोज देखि हिमानी ट्रस्ट स्थापना गरि सामाजिक कार्यमा लगाउन थाले ।
हिमानी शाहको आज ४९औं जन्मोत्सवको उपलक्षमा शुभकामना ।
राजपरिवारका कुनै पनि सदस्यले रक्तदान गर्ने परम्परा नभए पनि राजा महेन्द्रले २०२१ बैशाख २६ गते रक्तदान गरका थिए भने हिमानी शाहले पहिलो पटक २०७२ सालको महाभूकम्प पछि २०७२ बैशाख १९ गते आयोजना भएको रक्तदान कार्यक्रममा रक्तदान गरेकी थिइन् । यसपछि पनि उनले रक्तदान गरेकी थिइन् ।

प्रतिक्रिया