सोमबार, असार १६, २०८२

जापान वरपरको सुरक्षा वातावरण ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर’: प्रधानमन्त्री इशिबा

नेपालखोज २०८१ असोज १५ गते २०:३२

टोक्यो । जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मङ्गलबार उनको मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताएका छन् । यद्यपि उनले कुनै विशेष खतराको नाम उल्लेख गरेन ।

‘हाम्रो मुलुक वरपरको सुरक्षाको वातावरण दोस्रो विश्वयुद्धको समाप्तिपछिको सबैभन्दा गम्भीर छ’, दिनको प्रारम्भमा संसद्द्वारा प्रधानमन्त्रीका रूपमा अनुमोदन भएपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा उनले भने ।

सतसठ्ठी वर्षीय इशिबा पूर्व रक्षामन्त्री हुन् । उनले पहिले चीनको द्रुत सैन्य निर्माण, उत्तर कोरियाली मिसाइल प्रक्षेपण र अन्य सुरक्षा खतराको सामना गर्न एसियाली नाटो सिर्जना गर्न आह्वान गरेका थिए ।

‘जापान–अमेरिका गठबन्धनलाई आधार बनाएर हामी जापान र यस क्षेत्रको शान्तिलाई साकार गर्न कूटनीति र रक्षाको प्रयोग गर्दै मित्रवत र समान विचारधारा भएका देशहरूको दायरा विस्तार गर्नेछौँ’, उनले मङ्गलबार पत्रकारहरूलाई भने ।

उनले साइबर सुरक्षा र विदेशमा रहेका जापानी नागरिकहरूको सुरक्षामा पनि ध्यान केन्द्रीत गर्ने र जापानी सेनाका लागि नयाँ सैनिकहरूको अभाव समाधान गर्न काम गर्ने बताए ।

अर्थतन्त्रका सन्दर्भमा जापान बैंकको अत्यन्त खुकुलो नीतिबाट बाहिरिन समर्थन गर्ने इशिबाले आफ्ना पूर्ववर्ती फुमियो किशिदाको कामलाई व्यापक रूपमा जारी राख्ने बताए ।

प्रतिक्रिया