नयाँ नाटो प्रमुखले गरे ट्रम्पको डरलाई खारेज गर्दै युक्रेनलाई समर्थन गर्ने वाचा

ब्रसेल्स । नाटोका नयाँ प्रमुख मार्क रुटले मङ्गलबार अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको सम्भावित विजयको डरलाई कम आकलन गर्दै युक्रेनलाई समर्थन जारी राख्ने वाचा गरेका छन् ।
रुसले युक्रेनमा युद्ध जारी राखेको, चीनले आफ्नो बढ्दो शक्ति प्रदर्शन गरिरहेको र अमेरिकी मतदाताहरूले नयाँ नेता चुन्न लागेको महत्त्वपूर्ण क्षणमा पूर्व डच प्रधानमन्त्री रुटले नाटो प्रमुखको भूमिका लिएका छन् ।
नाटोको ब्रसेल्स मुख्यालयमा नर्वेका जेन्स स्टोल्टेनबर्गबाट औपचारिक रूपमा महासचिवको पदभार ग्रहण गर्दै रुटले भने, ‘म नाटोलाई भविष्यको चुनौतीहरूका लागि तयार पार्न प्रतिबद्ध छु ।’
नोभेम्बर ५ मा हुने अमेरिकी मतदानको परिणाम ५७ वर्षीय स्पष्टवादी नेता रुटका लागि पहिलो ठूलो परीक्षा हुनेछ र यसले उनको प्रारम्भिक चार वर्षे कार्यकाललाई आकार दिनेछ ।
चुनाव प्रचारका क्रममा पूर्वराष्ट्रपति ट्रम्पले पर्याप्त रक्षा खर्च नगर्ने नाटो सदस्यहरूको रक्षा नगर्ने धम्की दिएका छन् र युक्रेनमा युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै सम्झौता गर्ने वाचा गरेका छन् ।
‘म चिन्तित भएको छैन । म दुवै उम्मेदवारलाई राम्रोसँच चिन्छु । मैले डोनाल्ड ट्रम्पसँग चार वर्ष काम गरेँ । हामीलाई थप खर्च गर्न दबाब दिने उनी नै हो र उनले त्यो हासिल गरे’, रुटले भने, ‘निर्वाचनको परिणाम जे भए पनि म दुवैसँग काम गर्न सक्नेछु ।’
अमेरिकाको कट्टर सहयोगी र युक्रेनको दृढ समर्थक अनुभवी डच राजनीतिज्ञ रुटलाई नाटोका ३२ मुलुकले चयन गरेका छन् । उनले किएभलाई समर्थन र रुसविरुद्ध गठबन्धनको आफ्नै रक्षा सृदृढ गर्ने प्रयासहरूलाई निरन्तरता दिनेछन् ।
प्रतिक्रिया