वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका–९ गच्छेटोल घर भई काठमाडौं टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका छन् ।
पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजार रूपैयाँ र बिन्दुले १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदनलाई काठमाडौं पुतलीसडकबाट, अन्जनालाई काठमाडौं नयाँबसपार्कबाट र बिन्दुलाई ललितपुर गोदावरीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
कपिलवस्तुको बाणगंगा नगरपालिका–११ बनकटवास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही कन्चन गाउँपालिका–४ गरगरे बस्ने ३२ वर्षीय दिनम थापा र कपिलवस्तु बाणगंगा नगरपालिका–२ कप्टैया बस्ने ३० वर्षीय संजिव थापा रहेका छन् । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.९२ प ९७८७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहीयास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७५ ग्राम सहित भारत गोरखपुर घर बताउने २४ वर्षीय शिव गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले यूपी ५३ इपि २७३३ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वनरेक्स लेखिएको एक सय मिलिलिटरको १५ बोतल सहित राक्सिराङ गाउँपालिका–८ राक्सिराङ बस्ने २४ वर्षीय शंकर तितुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना.५ ख ८१८१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।
यसैगरी मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित सडकबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ३६ ग्राम सहित कैलाश गाउँपालिका–२ बैकुण्ठ बस्ने २३ वर्षीय तुलराम डिङडुङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चितलाङबाट खटिएको प्रहरीले डाँडाबासदेखि काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख २५२ नम्बरको बसलाई जाँच गर्ने क्रमममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित कान्छि बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने १९ वर्षीय हेमन्त बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने ४० वर्षीय धर्मानन्द भट्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अत्तरिया बसपार्कस्थित भट्टले संचालन गरेको पान पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–६ घर भएका ४२ वर्षीय राम शरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका–६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङ समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका–२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
मनरासिस्वा नगरपालिका–२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका–६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२–०२–००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
रूपन्देही, बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित सडकमा लु.२ त ६६१० नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका–११ बुद्धनगर बस्ने ६० वर्षीय ढिकु थारूको मंलगबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बेलबारी नगरपालिका–३ स्थित सडकमा ना.२ ख १४९० नम्बरको बस प्रदेश १–०२–००१ ज ४२७७ नम्बरको सुमोमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा सुमो चालक सोही नगरपालिका–९ बेलबारी बस्ने ३५ वर्षीय कृष्ण थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही, लालबन्दी नगरपालिका–९ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिलाको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–१६ बालाजु गुम्बास्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
रूकुम पश्चिम, मुसिकोट नगरपालिका–११ स्याबाङ बस्ने ७६ वर्षीय मन बहादुर बाठा सोही नगरपालिका–११ स्थित साँखखोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, तिरहुत गाउँपालिका–५ मुसहरी टोलस्थित बाटोमा सोही ठाउँ बस्ने ५० वर्षीय राम रूप सदा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट कार जलेर क्षति
मेचिनगर नगरपालिका–७ स्थित सडकमा धुलावारीबाट भारतको पानिट्याङकीतर्फ जाँदै गरेको डब्लुबि ७४ एआर ७१५० नम्बरको कारमा ब्याट्री सर्ट भई मंगलबार बेलुकी आगलागी हुँदा कारको अगाडीको भाग पूर्णरूपमा र साइडको भाग आंशिक रूपमा जलेर क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया