सोमबार, वैशाख २९, २०८२

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

नेपालखोज २०८१ असोज १६ गते १५:१०

वीरगञ्ज (पर्सा) । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् ।

मुलुकको कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट झन्डै आधा आयात हुने गर्छ तर अहिलेसम्म यी दुवै नाकामा निर्बाध रुपमा आयात–निर्यात भइरहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बाढीपहिरोले राजमार्ग अवरुद्ध भए पनि भन्सार जाँचपासको प्रक्रिया रोकिने काम नभएको बताए । अहिलेसम्म राजमार्ग अवरुद्ध भएकै कारणले भन्दै व्यवसायीहरुले वस्तु तथा सामानको भन्सार जाँचपासको प्रक्रिया रोकेका छैनन,’ उनले भने, ‘राजमार्ग अवरुद्ध हुँदा भारतबाट आयात हुने समानमा समस्या हुने गरे पनि तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै समस्या देखिएको छैन ।’

प्रमुख भन्सार प्रशासक लामिछानेले सडक अवरुद्ध भएको कारणले भन्सार जाँसपास गरेका सामान गन्तव्यमा पुर्याउन पाइएन भन्ने खालका गुनासा अहिलेसम्म नआएको दाबी गरे । ‘सडक अवरोध भएकै कारणले भन्सार जाँचपास गराउन सकिएन भन्ने खालका गुनासा आजका दिनसम्म आएका छैनन,’ उनले भने, ‘अहिले चितवन, हेटौँडा जाने मालवाहक सवारीसाधन नियमित चलेकाले पनि कुनै ठूलो समस्या देखिएको छैन ।’

वीरगञ्ज भन्सार नाका हुँदै करिब ६० प्रतिशत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हुनेगर्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व सङ्कलन भइसकेको छ ।

असोज महिनामा मात्रै १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा छ अर्ब ९५ करोड राजस्व सङ्कलन भइसकेको छ । बाढीका कारणले वीरगञ्ज भन्सार कार्यालय मात्रै नभई सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पनि कुनै असर नपारेको बताइएको छ ।

प्रतिक्रिया