एमाले उद्योग विभागको टोलीसँग भियतनामका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । नेकपा (एमाले) को उद्योग, वाषिज्य तथा आपूर्ति विभागका प्रतिनिधिसँग भियतनामको पूर्वगृहमन्त्रीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलले आज उद्योग, व्यापार, परियोजना सञ्चालन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल गरेको छ ।
भियतनाम नेपाल फ्रेन्डसीप एसोसिएसनका अध्यक्ष एवं भियतनाम सरकारका पूर्वगृहराज्यमन्त्री त्रान आन तान नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विभागका प्रमुख पूर्वमन्त्री मोतीलाल दुगढ नेतृत्वको प्रतिनिधिहरूसँग छलफल गरेको हो ।
टोलीमा भियतनामका पूर्वगृहमन्त्री त्रान भान तानको सहभागिता रहेको छ । भियतनाम र नेपालबीचको सम्बन्धलाई थप सुदृढ गराउने, लगानी, पर्यटन र व्यापर प्रवर्द्धन एवं जनस्तरको सम्बन्ध विस्तारका विषयमा दुई प्रतिनिधिमण्डलबीच छलफल भएको थियो ।
नेपाल पिस एण्ड सोलिडारिटी काउन्सिलको निमन्त्रणमा आएको टोलीले विभिन्न राजनीतिक दलका नेता, सरकारी प्रतिनिधि तथा यस विषयमा सरोकार राख्ने व्यक्तिहरूसँग छलफल गर्ने काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले जानकारी दिए । उनले ट्रेड एण्ड कमर्स, पर्यटन प्रवर्द्धन र सिधा हवाई सेवाका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा आज छलफल भएको जानकारी दिए ।
पूर्वमन्त्री एवं विभागका प्रमुख मोतिलाल दुगढले समसामयिक तथा आर्थिक र व्यापारिक विषयमा छलफल भएको बताए । उनले अन्य पर्यटनको सम्भावनालाई केन्द्रित गरेर विकास गर्नसके वार्षिक एक करोड पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताए ।

प्रतिक्रिया