सोमबार, असार १६, २०८२

अफगानी शरणार्थीले इरानमा भोगे बर्बर यातना

नेपालखोज २०८१ असोज १७ गते ९:११

इरानसँग अफगानिस्तानको सीमाबाट अफगानी शरणार्थीहरु बच्चा च्यापेर, आफ्नो सम्पूर्ण सांसारिक सम्पत्ति झोलामा अटाएर स्वदेश फर्किरहेका छन् । प्रत्येक दिन तीन हजार अफगानी जसमध्ये कोही इरानमा जन्मेका थिए, आफ्नो उज्ज्वल जीवन जिउने प्रयास असफल भएपछि स्वदेश फर्किरहेका छन् ।

‘शरणार्थीहरूले धेरै शारीरिक र मानसिक यातनाको सामना गर्नुपरेको छ’, इस्लाम कालाको सीमावर्ती सहरमा आगमन दर्ता गर्ने अधिकारी अब्दुल घानी काजीजादाले बताए । कोही अवैध रूपमा इरान प्रवेश गरेका र कोहीको भिसा म्याद सकिएका कारण उनीहरु आफ्नो देश फर्कन बाध्य भएका हुन् । लगभग ९० प्रतिशतलाई अफगानीलाई इरानबाट निर्वासित गरिएको छ भने बाँकी स्वेच्छाले फर्किरहेका छन् ।

‘उनीहरूलाई १८ वर्ष माथिका जो कोहीले १० करोड तोमान बैङ्कमा जम्मा गराउनुपर्ने अन्यथा एक हप्ताभित्र इरान छाड्न चेतावनी दिइएको थियो’, काजीजादाले भने । यी शरणार्थीहरू देश भित्रनु अघी अफगान अधिकारीले दर्ता गरिरहेका छन् र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनद्वारा जाँच गरिएका छन् । आफ्नो परिवारसँग जीवन पुनर्निर्माण गर्न फर्किरहेका शरणार्थीका लागि प्रति व्यक्ति दुई हजार अफगानी दिइने व्यवस्था गरिएको छ भने एक्लै फर्किनेको हकमा यो सुविधा लागू गरिएको छैन ।

३६ वर्षीया रमजान अजिजी आफ्नी श्रीमती र तीन बच्चासहित आगमन दर्ता गराउन पर्खिरहेका थिए । उनी सन् २०२३ मा एक दलाललाई १ हजार २२० डलर दिएर अवैध रूपमा इरान प्रवेश गरेका थिए । तर बढ्दो बेरोजगारी साथै अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत देशमा अपराधको आरोपमा अफगानहरूले बढ्दो शत्रुताको सामना गर्नुपरेको छ । २६ वर्षीया फाजिला कादेरीले राजधानी तेहरान नजिकैको करज शिविरमा आफू र आफ्नो पतिले भोगेका कष्टको स्मरण गरे ।

‘सुरक्षाकर्मीले पुरुष र महिलामा कुनै भेद नगरी हामीलाई छ वा सात दिनसम्म लठ्ठीले धेरै कुटपिट गरे’, उनले बताए ।कुटपिटका कारण उनको पतिको हड्डी भाँचिएको थियो । उनी मध्य–उत्तरी प्रान्त काजभिनमा एकजना तस्करलाई पैसा दिएर चार वर्षअघि इरान आएका थिए । वैध पासपोर्ट र भिसा हुँदाहुँदै पनि आफूलाई पक्राउ गरी इरानबाट निष्कासन गरिएको २९ वर्षीया मजदुर अब्दुल बसीरले बताए । ‘पासपोर्ट लिएर म १० दिनका लागि सैन्य शिविर मा पुगेँ’, उनले भने । उनले एक पटक शिविरमा घाइते हुनेगरी कुटपिट गरिएको बताए । सुरक्षाकर्मीहरूले अफगानी पासपोर्ट वा वैध इरानी निवास अनुमतिहरू च्यातेको पनि उनले दावी गरे । तसर्थ उनलाई अफगान पासपोर्ट बिना अफगानिस्तान निर्वासित गरियो ।

सीमामा रहेका अफगानी अधिकारी काजीजादाले करिब ७० प्रतिशत शरणार्थीलाई इरानी कागजातबिना फिर्ता पठाइएको जानकारी गराए। अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सेप्टेम्बरको अन्त्यमा तेहरानलाई ‘ इरानको विकासमा योगदान पुर्याएका अफगानी शरणार्थीलाई’ सहयोग गर्न आग्रह गरेका थिए । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले गत महिना तेहरानले अवैध नागरिकहरूलाई ‘सम्मानजनक ढङ्गले’ आफ्नो देशमा फिर्ता गरिरहेको बताएका थिए ।

प्रतिक्रिया