राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री

नेपालखोज २०८१ असोज १८ गते २१:३२

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताएकी छन् ।

आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताइन् ।

मन्त्री राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्केकी हुन् ।

मन्त्री राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिनेगरी उपस्थित भएको पनि जानकारी दिए । उनले भनिन्, ‘यहाँ हामीले जसरी नेपालमा यो भएन, त्यो भएन भन्ने गरेका छौँ वास्तवमा त्यस्तो अवस्था पनि होइन । तथ्य र तथ्याङ्कहरुमा हेर्दा नेपालको अवस्था नाजुक छैन । हामी दिगो विकास लक्षको प्राप्तिमा ४७ प्रतिशतसम्म प्रगति गरेका छौँ । तर कतिपय देशको त अहिले पनि १७ प्रतिशत मात्र प्रगति भएको पनि देखिएको छ । हाम्रो अवस्थालाई हामीले सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्छ ।’

एक प्रश्नमा उनले हालै विकसित परिस्थितिका कारण लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे नेपाल सरकार जानकार रहेको, अहिलेसम्म सबै नेपाली सुरक्षित रहेका र नेपाल फर्कन चाहनेका लागि दूतावासमार्फत् हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिए ।

उनी क्यानडाको टोरन्टोमा गत सेप्टेम्बर १९–२० मा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएकी थिइन् । सो बैठकका क्रममा उनले विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया