समुन्द्रमा डुब्न लागेको देश कुन–कुन ?
प्रशान्त महासागरको बीचमा अवस्थित एउटा सानो देश तुभालु अहिले आफ्नो अस्तित्वका लागि लडिरहेको छ । समुन्द्री सतह बढेपछि यो देश डुब्ने संघारमा छ । यहाँका मानिसहरू अहिले सन्तान जन्माउन पनि डराउँछन्, किनभने उनीहरूलाई लाग्छ कि आफ्ना छोराछोरी हुर्कँदासम्म पुरै देश नै समुद्रमा डुब्नेछ।
मानिसहरुयहि डरले घर – परिवार बसाउन पनि हिचकिचाउँछन् । एक रिपोर्ट अनुसार तुभालुका मानिसहरु अहिले सन्तान जन्माउने कुरामा बेवास्ता गरिरहेका छन् । फुकानोई लाफाई जस्ता मानिसहरू बच्चा जन्माउन चाहन्छन्, तर बढ्दो समुद्री सतह र भविष्यको अनिश्चितताका कारण कुनै निर्णय लिन डराउँछन्। वैज्ञानिकहरूका अनुसार तुभालुको ठूलो भाग आगामी केही दशकमा पानीमा बिलय हुन सक्छ।
तुभालुको उचाइ केवल २ मिटर अर्थात् समुद्र सतहबाट ६.५६ फिट मात्र माथि छ । विगत ३० वर्षमा समुद्रको सतह १५ सेन्टिमिटरले बढेको छ, जुन विश्वव्यापी औसतभन्दा डेढ गुणा बढी हो। नासाका वैज्ञानिकहरूले अनुमान गरे अनुसार २०५० सम्ममा आधा तुभालु ज्वारभाटाका कारण डुबिसकेको हुनेछ।
जीवन शैली र संघर्ष
अहिले तुभालुमा खेती गर्न पनि गाह्रो छ । समुन्द्रको नुनिलो पानीको बाढीले जमिन बर्बाद भएकाले यहाँका मानिसहरु तरकारी खेती गर्न अग्ला उचाइमा बनेका बगैंचा र वर्षाको पानी जम्मा पारिएको ट्याङ्कीमा निर्भर छन् । तुभालुका मानिसहरूको भविष्य अनिश्चित छ र यही कारणले यहाँ जनसंख्या वृद्धि रोकिएको छ।
अष्ट्रेलियाको सहयोग
तुभालुले २०२३ मा अस्ट्रेलियासँग ऐतिहासिक जलवायु र सुरक्षा सन्धि गरेको थियो। यसअन्तर्गत २०२४ देखि प्रत्येक वर्ष तुभालुका २८० जना नागरिकलाई अष्ट्रेलियामा बसोबास गर्न अनुमति दिइनेछ, ताकि तुभालुका जनताले सुरक्षित जीवन बिताउन सकून् ।
प्रतिक्रिया