मंगलबार, असार २४, २०८२

व्यापारीको गुनासो : सोच जस्तो छैन व्यापार

नेपालखोज २०८१ असोज २० गते १८:४५

काठमाडौं । ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।

दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ । उनी भन्छन्  ‘दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपालि व्यापार कम छ ।’

पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ ।  यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ ।

दसैँमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्त्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन् । ‘आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ’, उनले भनिन् ।

ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यस पाली मुल घर सर्लाही नजाने बताए। बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए ।

‘काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ’, उनले भने ‘किनमेल पनि भर्खरै सुरु हुँदैछ ।’ उनले जाडोको लुगा भने दसैँको पर्व छोपेर खरिद गर्ने गरेको बताए। पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन मनपर्ने सुनाए ।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताइन् । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाइन् । गाउँ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालीको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको  सुनाइन् । ‘आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?’, उनले भनिन् । 

भृकुटीमण्डपका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ । ‘मान्छेहरूको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन’, उनले भने।

प्रतिक्रिया