बुधबार, जेठ १, २०८२

नारायणगढ–बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन

नेपालखोज २०८१ असोज २१ गते १४:४४

नवलपुर (नवलपरासी) । यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुईपटक सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक भासिएर यातायात आवागमन अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती खेप्न बाध्य भए । सामान्य पानी परेको अवस्थामा कहाँ सडक अवरुद्ध हुनपुग्छ र बाटोमा अलपत्र गरिन्छ भन्ने चिन्ता बोकेर हिँड्नुपरेको भरतपुर–११ का कृष्ण पौडेलले गुनासो गरे।

भारतको नयाँ दिल्ली गएर फर्किदै गरेका पौडेल दाउन्नेको जाममा १२ घण्टासम्म रोकिएको गुनासो गरे । ‘दिल्लीमा काम सकाएर दाउन्ने हुँदै घर जान हिँडेको थिएँ, दाउन्नेमा सडक भासिएर बाटो अवरुद्ध भएछ’, उनले भने, ‘यस सडकको विकल्प नभएका कारण असोज १८ गते रातभरी बाटोमै बस्नु पर्यो ।’

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।

सडक विभाग आयोजना निर्देशनालय ९एडिबी०का निर्देशक इञ्जिनियर चुडाराज ढकालले भने, ‘बाटोमा कुनै जाम भएन भने चार घण्टामा सार्वजनिक सवारीसाधनले नारायणगढ बुटवलको दूरी पार गर्छन् ।’ सडक सहज रुपमा सञ्चालन गराउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिइसकेको उनले बताए ।

प्रतिक्रिया