भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्, मासुखान समस्या छैन : पशु चिकित्सक

कास्की । पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । यसबाहेक दसैँमा खसीबोकाकोसमेत राम्रो बिक्रीवितरण हुने गर्दछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका अनुसार दसैँमा १५ हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा र खसीबोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो । यस वर्ष गत वर्षभन्दा तीन हजार बढी भेडा, च्याङ्ग्रा ल्याइँदैछ । गत वर्ष आठ हजार पाँच सय खसीबोका ल्याइकामा यस वर्ष घटेको छ ।
‘हामीले लिएको तथ्याङ्कअनुसार यस वर्ष १९ हजारको हाराहारीमा पोखरामा खसीबोका र भेडाच्याङ्ग्रा पोखरामा बिक्रीका लागि ल्याइएको छ । मुस्ताङ र म्याग्दीस्थ्ति भेटेरिनरी अस्प्तालमा कति बाहिरिए भन्ने तथ्याङ्क र बजारमा व्यापारीसँग जानकारी लिएका छौँ’, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भने ।
पोखरामा मुख्यगरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा, च्याङ्ग्राको आयात हुने गर्दछ । त्यसबाहेक सुदूरपश्चिमका बझाङ, मुगु, बाजुरालगायत क्षेत्रबाट यहाँ बिक्रीका लागि ल्याउने गरिएको छ । पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी÷ बोकाको बिक्री घटेको बताए । माग कम भएपछि आफूहरुले आयातसमेत घटाएको उनले बताए ।
श्रेष्ठले भने, ‘अघिल्ला वर्षमा हामीले आठ÷नौ हजारजति खसीबोका ल्याउने गरेका थियौँ । तर अहिले माग छैन । पहिलाकोभन्दा आधामात्र ल्याएका छौँ ।’ पोखरामा तनहुँ, गोरखा, पाल्पा, अर्घाखाँची र नवलपरासीबाट मुख्यगरी खसीबोका आयात हुने गर्दछ । केही व्यापारीले दाङ र सुर्खेतबाट ल्याउने गरेका छन् । दसैँतिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडाच्याङ्ग्राको अनुगमन तथा स्वास्थ्य परीक्षणसमेत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगर पशुसेवा शाखाले संयुक्त रुपमा अनुगमन तथा भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरेका हुन् ।
पोखरा महानगरपालिका–१ सिमपानी तथा जौवारीमा पशु चिकित्सकसहितको प्राविधिक टोलीले नमुनाका रुपमा च्याङ्ग्राको परीक्षण गरेको हो । परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेले बताए । ‘सुरुआतमै रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ ।
मुस्ताङ र म्याग्दीमा परीक्षण गरेर पोखरा ल्याइन्छ । बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन् । अन्य समस्या देखिएको छैन’, उनले भने । पोखरा महानगर पशु शाखाका प्रमुख डा अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा, च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताए । अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएको बाँके अन्य सङ्क्रामक रोग देखिएको छैन ।

प्रतिक्रिया