‘नाभाल्नीलाई जेलमा नै आफ्नो मृत्यु हुन्छ भन्ने थाहा थियो’
न्यूयोर्क । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका तत्कालिन प्रमुख राजनीतिक प्रतिद्वन्द्वी रहेका रूसी विद्रोही एलेक्सी नाभाल्नीले आफू जेलमा नै मर्नुपर्छ भन्ने बुझेको उहाँको मृत्युपछि सार्वजनिक जेल डायरीमा उल्लेख गरेको भेटिएको छ ।
‘द न्यु योर्कर’ले शुक्रबार प्रकाशित गरेको पुस्तकका केही अंशमा नाभाल्नीको जेल डायरी र त्यसअघिका लेखहरू समावेश गरिएको छ। २२ मार्च २०२२ मा उनले लेखेका थिए, ‘म मेरो बाँकी जीवन जेलमा बिताउनेछु र यहीँ मर्नेछु । बिदाइ गर्ने कोही हुनेछैन । सबै वर्षगाँठहरू म बिना मनाइनेछ। म मेरा नातिनातिनालाई कहिल्यै देख्ने छैन।’ नाभाल्नीलाई आर्कटिकको एक पेनल कोलोनीमा ‘अतिवाद’ को आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको थियो ।
फेब्रुअरी १६ मा ४७ वर्षको उमेरमा भएको उहाँको मृत्युको व्यापक निन्दा भएको थियो र धेरैले उहाँको मृत्युका लागि पुटिनलाई दोषी भएको बताएका छन् । सन् २०२० मा नाभाल्नीलाई विषाक्त पदार्थ सेवन गराई हत्या गर्ने प्रयास भएको थियो । बिष आक्रमणबाट गम्भीर स्वास्थ्य समस्या आएपछि उहाँको जर्मनीमा महिनौ लामो उपचार भएको थियो ।
उनलाई उपचारपछि रूस फर्कने क्रममा जनवरी २०२१ मा पक्राउ गरिएको थियो । जनवरी १७, २०२२ मा उनले लेखेका छन्, ‘हामीले डराउनुपर्ने एउटा मात्र कुरा के हो भने हामी आफ्नो मातृभूमि झूट, चोर र पाखण्डीहरूको गिरोहले लुट्नका लागि समर्पण गर्नेछौँ।’ पुस्तकमा डायरीका अंशहरूले कैदको एक्लोपन र प्रशासनको हास्यास्पद अनुसन्धानलाई प्रस्तुत गरेको छ ।
उदाहरणका लागि, जुलाई १, २०२२ मा नाभाल्नीले आफ्नो सामान्य दिनको रूपरेखा प्रस्तुत गर्दै लेखेका छन् बिहान ६ः०० बजे उठ्ने, ६ः२० मा ब्रेकफास्ट गर्ने र ६ः४० मा काम सुरु गर्ने मेरो दैनिकी हो । उनले लेखेको डायरीको अंशमा पुटिनको प्रशासनलाई व्यङ्ग्य गर्दै भनिएको छ, ‘कामको सिलसिलामा तपाईं घुँडाभन्दा होचो स्टुलमा सिलाई मेसिनमा सात घण्टा बस्नु र काम पछि, पुटिनको चित्रमुनि काठको बेन्चमा केही घण्टा बस्नुलाई ‘अनुशासनात्मक गतिविधि’ भनिन्छ।’
‘प्याट्रियट’ शीर्षकको यो पुस्तक अमेरिकी प्रकाशक नोफले सार्वजनिक गर्नेछ । न्यु योर्करका सम्पादक डेभिड रेम्निकले लेखेका छन्, ‘नाभाल्नीको जेल डायरी पढ्न कठिन छ।” जनवरी १७, २०२४ मा पत्रिकामा प्रकाशित अन्तिम अंशमा नाभाल्नीले आफ्ना सहकर्मी कैदीहरू र जेल गार्डहरूले सोधेको प्रश्नको जवाफ दिएका छन्ः उनी किन रूस फर्के? ‘म आफ्नो देश छोड्न वा विश्वासघात गर्न चाहन्नँ। यदि तपाईंको विश्वासको कुनै अर्थ छ भने, तपाईं उनीहरूको विपक्षमा खडा हुन र आवश्यक भएमा बलिदान दिन तयार हुनुपर्छ,” उहाँले डायरीमा लेखेका छन् ।
प्रतिक्रिया