बिहीबार, कार्तिक २९, २०८१

पोखरामा विद्युतीय तार भूमिगत आयोजना धिमा गतिमा

नेपालखोज २०८१ असोज २९ गते २१:२७

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना सुस्त भएको बताए ।

‘अनेक अड्को र कारण देखाउँदै निर्माण कम्पनीले समयमा काम गर्न सकेको छैन’, उनले भने, ‘गत वर्ष माघमा थपिएको ठेक्का म्याद पनि सकिन लागेपछि पुनः म्याद थपका लागि प्रकृया अगाडि बढेको छ ।’ इन्जिनियर सुवेदीले अहिलेकै गतिमा काम भएमा आयोजनालाई पूर्णता दिन वर्षौँ लाग्ने बताए । उनका अनुसार गत कात्तिकमा आयोजनाको प्रगति २५ प्रतिशत पुगेकामा त्यसयता वर्षदिनमा जम्मा २५ प्रतिशत प्रगति थपिएको हो ।

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि २०८० वैशाखको अन्तिमतिर पोखरामा तार बिछ्याउने काम सुरु गरिएको थियो । इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना सुस्ताएको इन्जिनियर सुवेदीले बताए ।

‘चित्तबुझ्दो ढङ्गले आयोजनाको काम हुन सकेको छैन, केही समयदेखि काम नै रोकिएको छ, दसैँलगत्तै काम सुरु गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ’, उनले भने । पोखरा महानगरपालिका–१० कुँडहरचोकदेखि बुद्धचोकसम्म र लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए ।

पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इन्जिनियर सुवेदीले बताए । आयोजनाअन्तर्गत पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिँहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । ।

प्रतिक्रिया