शनिबार, जेठ ४, २०८२

चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

नेपालखोज २०८१ कार्तिक ६ गते ७:१३

दमौली(तनहुँ) । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ ।

म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गरेका हुन् ।

म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताए । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ । उनले भने, ‘तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भनेर हामी तीन जना युवा मिलेर पहिलोपटक सयपत्री फूलखेती गरेका हौँ ।’

यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ । उनका अनुसार दुई हजार पाँच सय फूल लगाइएको थियो । उनले भने, ‘तिहारका बेला स्थानीयस्तरमै फूलको माग हुन्छ । पोखरामा पनि सम्पर्क भइरहेको छ ।’

शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले पनि विगत दुई वर्षदेखि फूलखेती गर्दै आएका छन् । गत वर्ष कलकत्ते प्रजातिका फूल लगाएका उनले यस वर्ष टिटी जातको फूलखेती गरिएको जानकारी दिए ।

उनले गत वर्षको तिहार र एकादशीमा रु एक लाख बराबरको सयपत्री बिक्री गरेका थिए ।

प्रतिक्रिया