शनिबार, असार १४, २०८२

उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी

नेपालखोज २०८१ कार्तिक ८ गते १२:४३

वासिङ्टनडीसी (अमेरिका) । उत्तर कोरियाले कम्तिमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रूसमा पठाएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना रहेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली सैनिकहरू युक्रेनसँग लड्न रुस जाँदैगरेको सार्वजनिक सूचना पाएको बताए । सेना उत्तर कोरियाको वोनसनबाट रूसको भ्लाडिभोस्टोकसम्म जहाज मार्फत गएको बताउदै हाल उनीहरु रूसी सैन्य प्रशिक्षणमा रहेको बताए ।

प्रशिक्षण पछि सैनिकहरूले युक्रेनी सेनाविरुद्ध लडाइँमा संलग्न हुन सक्ने चिन्ता उनले व्यक्त गरेका छन् । किर्बीले अमेरिकाले युक्रेनी सरकारलाई उनीहरूको अवस्था बारेमा जानकारी दिएको बताउँदै उत्तर कोरियाले मस्को र किभबिचको द्वन्द्वमा प्रवेश गरेमा युद्धमा रूस कायरतालाई उजागर गर्ने उल्लेख गरेका छन् ।

युक्रेनविरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउदै किर्बीले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको विपरित युक्रेनसँग द्वन्द्व जारी राख्न चाहेको बताएका छन् । ह्वाइट हाउसका वरिष्ठ अधिकारीले युद्धका लागि युक्रेनलाई अमेरिकी सहयोगको बारेमा कुरा गर्दै अमेरिका युक्रेनलाई थप युद्व सामाग्रीहरू प्रदान गर्ने तयारीमा रहेको बताए ।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न कटिबद्ध रहेकोसमेत जानकारी दिए । युक्रेनका लागि अमेरिकी समर्थनको पुष्टि गर्दै उनले आगामी दिनमा अमेरिकाले युक्रेनविरुद्ध रुसको युद्धका समर्थकलाई लक्षित गरी महत्वपूर्ण प्रतिबन्धको घोषणा गर्ने जनाएका छन् । रासस/एएनआई

प्रतिक्रिया