जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक

दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् । बन्दीपुरमा बसोबास गर्ने नेवार, मगर, गुरुङ, क्षत्री जातिका पोसाकमा सजिएर पर्यटक कौरा र चुड्कामा नाचेका छन् ।
स्थानीय होटल व्यवसायीको सक्रियतामा शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका हेरिटेज गेष्ट हाउसका सञ्चालक किसान प्रधानले विदेशी पर्यटक यहाँको संस्कृति देखेर आकर्षित भएको बताए ।
उनले भने, ‘विदेशीहरूले यहाँको संस्कृति, रीतिरिवाजबारे बुझ्ने प्रयास गरेपछि उनीहरूलाई विभिन्न जातजातिका पोसाकको व्यवस्था गराएर स्थानीयवासीको सहयोगमा नचायौँ । उनीहरू निकै खुसी देखिए ।’
स्थानीयवासीले गाएको गीतमा नाच्न पाउँदा विदेशी पर्यटक खुसी देखिएका थिए । प्रधानले भने, ‘बन्दीपुर घुम्न आउने पर्यटक यहाँको संस्कृति, रीतिरिवाज, जातजातिको एकता देखेर मोहित हुन्छन् ।’
बन्दीपुरमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि भिजिट बन्दीपुर २०२५ घोषणा गरिसकेको छ ।
बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्विटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको प्रधानले जानकारी दिए ।
गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार उक्त वर्षभरि नै बन्दीपुरमा पर्यटन प्रवर्द्धनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । देशका मुख्य सहर काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने थापाले बताए । पर्यटन प्रवद्र्धनकै निमित्त बन्दीपुरमा आगामी माघ महिनामा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिताको तयारी गरिएको छ ।
पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ ।खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल पर्यटकहरू लागि आकर्षणको केन्द्रविन्दु भएको छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछन् । रासस
प्रतिक्रिया