तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्ने

नेपालखोज २०८१ कार्तिक १० गते १६:३९

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) मा जलवायु वित्तका विषयमा विशेष छलफल हुने बताएका छन् ।

कोप–२९ लाई अर्थपूर्ण बनाउन आज आयोजित ‘राष्ट्रिय जलवायु सम्मेलन’ कार्यक्रममा मन्त्री ठकुरीले कोपमा जलवायु वित्तको एजेन्डालाई महत्वका साथ उठान गरिने उल्लेख गरे । ‘कोपमा सबै देशहरू जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कट र समस्या समाधान गर्न एकजुट हुनेछन् । जलवायु सङ्कटसँगै समाधानमा नेपालले गरेको उपलब्धिबारे प्रचार गरी थप सहयोग र सहकार्यका माध्यमबाट हाम्रा आवश्यकता पूर्ति गर्नेबारे अघि बढ्ने छौँ’, उनले भने ।

वित्तीय सहयोगबिना विकशील देशलाई जलवायु परिवर्तनले निम्ताएका चुनौतीसँग लड्न असहज हुने भएकाले वित्तसम्बन्धी विषयमाथि छलफल गरिने मन्त्री ठकुरीले बताए । ‘तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनु जरुरी छ । यसलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो ऊर्जा स्रोत अवलम्बन गरी कार्बन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ ।’

जलवायु परिवर्तनका कारण केही समयअघि थामेमा भएको हिमताल विस्फोट र काठमाडौंलगायत क्षेत्रमा आएको बाढीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइँने मन्त्री ठकुरीले जानकारी दिए ।

‘जलवायु परिवर्तनले निम्तिाएका सङ्कट आज समग्र विश्वका लागि गम्भीर चुनौतीका रुपमा देखिएको छ । यससँग जुध्न कुनै एक देश वा समुदाय मात्र नभई विश्व जगत एकजुट हुनु जरुरी छ । नेपालले विश्व मञ्चमा जलवायु परिवर्तनको समस्या समाधान गर्न नेतृत्वदायी भूमिका लिइरहेको छ र आगामी दिनमा पनि समन्वय र सहकार्य गर्नेछ’, उनले भने ।

सन् १९९२ को जलवायु परिवर्तन महासन्धी र सन् २०१५ को पेरिस सम्झौता अनुमोदन गर्नुका साथै नेपालले आफ्नो प्रतिबद्धता पूरा गर्दै आएको भन्दै मन्त्री ठकुरीले नेपालले विसं २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार पारी कार्यान्वयन गरिरहेको जानकारी दिए । विद्युतीय सवारी प्रवर्द्धन तथा स्थानीयस्तरमा जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई विश्वले प्रशंसा गरेको उनले उल्लेख गरे ।

मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्नेक्रम घटेको, बाढीपहिरोलगायत जलवायुजन्य विपत्तिहरुले निरन्तर पुर्याइरहेको क्षतिकाबारेमा सम्बन्धित जिल्लाका जनप्रतिनिधि, स्थानीय, विज्ञ तथा सञ्चारकर्मीले जानकारी गराइरहेको बताए ।

प्रतिक्रिया