जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

लुक्ला (सोलुखुम्बु) । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ ।
आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौंमा हुने जानकारी दिए ।
मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उनले बताए । उनका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ ।
उनले पछिल्ला केही वर्र्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
‘पाँच हजार छ सय ५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ’, अध्यक्ष लामाले भने ।
कम्पनीका प्रबन्ध निर्र्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिए ।
‘जलवायु परिवर्तनबाट विशेष गरी मुलुकको पर्यटन क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालबाट हिउँ हराउन थालेको छ, सेता हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । यो क्षेत्रलाई बचाउन सकिएन भने पर्यटन क्षेत्रलाई बचाउन सकिँदैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यो सन्देश हामी विश्व समुदायलाई दिन चाहन्छौँ’, उनले भने ।
प्रबन्ध निर्र्देशक मोक्तानले जलवायु परिवर्तनको असरका कारण सदियौँदेखि जमेका हिमतालहरु फुट्ने क्रम सुरु भएको, अधिक र न्यून वर्षा हुन थालेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद् बढ्ने क्रममा रहेको उल्लेख गरे ।
लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । उनले भने, ‘गत वर्षको कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही क्षेत्रमा आएर जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएको थिए । यस वर्ष हामी खुम्बुवासीले यसबारे आवाज उठाएका छौँ ।’
प्रतिक्रिया