शनिबार, असार १४, २०८२

उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको ‘निराशा’ को सङ्केत

नेपालखोज २०८१ कार्तिक १२ गते २०:३९

ब्रसेल्स । नाटोका प्रमुख मार्क रुटेले सोमबार युक्रेनमा रुसको युद्ध प्रयासलाई बलियो बनाउन उत्तर कोरियाली सैनिकको तैनाथीलाई द्वन्द्वको खतरनाक विस्तार भएका छन् । उनले यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बढ्दो निराशा’ लाई सङ्केत गरेको बताए ।

दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उनले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा पठाइएको पुष्टि गर्न सकिने बताए ।

‘रुस र उत्तर कोरियाबीचको बढ्दो सैन्य सहयोग इन्डो–प्यासिफिक र युरो–एटलान्टिक दुवै सुरक्षाका लागि खतरा हो’, रुटेले पत्रकार सम्मेलनमा भने, ‘कुर्स्कमा उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको बढ्दो निराशाको संकेत पनि हो ।’

युक्रेनी सेनाले अगस्टदेखि कुर्स्कमा स्थल आक्रमण गरिरहेको छ र रुसी भू–भागको केही सय वर्गकिलोमिटर नियन्त्रणमा लिएको छ ।

रुटेका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।

पुटिनले पश्चिम विरोधी गठबन्धन निर्माण गर्ने प्रयास जारी राख्नुभएकाले मस्को र प्योङयाङबीच बढ्दो सैन्य सम्बन्ध अमेरिका र युरोपेली सङ्घ (इयु) का लागि ठूलो चिन्ताको विषय हो ।

गत हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले केही दिनभित्रै उत्तर कोरियाली सैनिकहरूलाई युद्धमा पठाउने योजना बनाएको चेतावनी दिएका थिए । उनले उत्तर कोरियाले रुसलाई समर्थन गर्न १० हजार सैनिक तालिम दिइरहेको दाबी गरेका छन् ।

दक्षिण कोरिया, नाटो र संयुक्त राज्य अमेरिकाले पनि हजारौँ उत्तर कोरियाली सैनिक रुसमा तालिम लिइरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया