‘सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाइने’

नेपालखोज २०८१ कार्तिक १३ गते १६:४९

काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा उनले सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउन मन्त्रालयले काम गरिरहेको बताए ।

गृहमन्त्री लेखकले भने, ‘७७ वटै जिल्लामा परिचालित सशस्त्र प्रहरीलाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, युग सुहाउँदो बन्दोबस्ती सामग्रीले सुसज्जित गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ । ‘

नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट तयार रहेको उनले उल्लेख गरे । उनले राज्यले सुम्पिएका जिम्मेवारीलाई विषम परिपस्थितिमा समेत सशस्त्र प्रहरीले व्यावसायिक दक्षता प्रदर्शन गर्दै आएको बताए ।

मौजुदा स्रोतसाधनको प्रयोग गरी नतिजा हासिल गर्नेतर्फ विगत र वर्तमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकले निर्देशन दिए । ‘सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधिभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरेमा लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ’, उनले भने, ‘विधिको शासन र कानुनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै कानुन पालना गर्नेरगराउने निकायले चनाखो एवम् होसियार रहेर आफ्ना काम कारबाही सञ्चालन गर्नुरगराउनु अहिलेको आवश्यकता हो ।’

प्रशिक्षणलाई समयानुकूल आधुनिक र वैज्ञानिक बनाई राज्यलाई दक्ष अधिकृत निर्माणमा सङ्गठनले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लेखकले सशस्त्र प्रहरी एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढङ्गले अगाडि बढ्ने व्यवस्था गरिने बताए ।

प्रतिक्रिया