सालको पात बेचेर खर्च जुटाउँदै महिला

धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका– ६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्न्छिन् । इटहरीबाट गाईघाट आउन जानै एक दिन लाग्छ । गाईघाट पुगेर दिनभर सालका पात टिपेर घर फर्किन्छिन् ।
उनले भनिन्, ‘साँझ घर फर्केर पातका मुठा बनाउनुपर्छ त्यसपछि पातको दुनाटपरी गाँस्न प्रयोग हुने बाँसको सिन्का तयार गर्नुपर्छ । तयार गरिसकेपछि बेच्नका लागि टेङ्ग्रा खोला नजिकै पुग्ने गरेको उनले बताइन् । उनले सालको पात बेच्न थालेकी तीन वर्ष भयो । उनले भनिन्, ‘नजिकै सालको पात पाइँदैन, गाईघाटसम्म पुग्नुपर्छ तर यहाँ ल्याई सकेपछि बिक्री नहोला भन्ने चिन्ता छैन ।’
सालको पात पनि सिजन अनुसार बिक्री हुन्छ । 'जेठ, असार, साउन महिनामा खासै बिक्री हुँदैन । भदौ, असोज लागेसँगै चाडपर्व सुरु हुन्छ र बिक्री बढ्छ', उनले भनिन्, कहिलेकाहीँ पात पुर्याउनै गाह्रो हुन्छ ।
उनका अनुसार सालको पात बिक्री गरेर मासिक रु २० देखि २५ हजारसम्म आम्दानी हुन्छ । घिमिरेले प्रतिमुठा ठूलो एक सय र सानो ५० देखि ७० मा बिक्री गर्दै आएकी छिन् । दैनिक २० देखि २५ मुठासम्म सालको पात तिहारको बेला बिक्री हुने गरेको उनको भनाइ छ । तिहार खर्च यसैबाट जुट्ने उनले सुनाइन् ।
प्रतिक्रिया