दोश्रो विश्व युद्धको युद्ध तक्मा

यो तक्मा कसैको वीरताको निशानी हो । थाहा छैन कसरी बजारमा बिक्यो । दोश्रो विश्व युद्धकाे समय २८ दिन कठाेर रुपमा युद्धको मोर्चामा खटिएका सैनिकहरुले प्राप्त गर्ने यो तक्मा अहिले Amazon तथा Ebay मा पनि बिक्रीमा राखिएको भेटिन्छ । मैले पनि यस्तै कतै खरिद गरेको हुँ । अहिले मसंग दुइ वटा छन् । एक तक्माको बाहिरी घेरामा ति वीर गोर्खाली सैनिकको नाम लेखिएको छ । भने अर्को तक्मामा नाम मेटिएको छ ।
यो तक्मा बजारमा पुगिसकेको हुँदा मैले यहाँ ति विर सैनिकको नाम लेख्नु उचित ठानिन । कुनै परिस्थितिवस यो बिक्री गरिएको हुन सक्छ । यस तक्माको एक तर्फ बायाँ तर्फ फर्किएको जर्ज छैठौको श्रीपेच लगाएको शिर राखिएको छ । जसको गोलघेरामा GEORGIVS VI D:G:BR:OMN:REX ET INDIAE IMP: लेखिएको छ । यस भागमा घाँटीको तल सानो अक्षरमा PM लेखिएको छ । यो PM यस भागको डिजाइनर Percy Metcalfe को पहिलो अक्षरहरु राखिएको थियो ।
तक्माको पछाडि भने माथिल्लो भागमा १९३९ तथा १९४५ लेखिएको छ भने बिचमा बेलायती साम्राज्यको प्रतिक सिंह तथा दुइ शिर भएको चील माथि सिहले आक्रमण गरेको देखिन्छ । विश्व युद्धमा बेलायतको दुश्मनका रुपमा रहेको पश्चिमी दुश्मन यूरोपको जर्मन तथा पूर्वी दुश्मन जापानका रुपमा चीलको दुइ शिरको प्रतिक राखिएको छ । बायाँ तर्फ सानो अक्षरमा ECRP लेखिएको छ । जुन यस भागको डिजाइनर Edward Carter Preston को नाम कोरिएको छ ।

प्रतिक्रिया