बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन्

धुलिखेल (काभ्रेपलाञ्चोक) । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहेका छन् ।
काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रुपमा मनाउन पाएका छैनन् । गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घरआँगनमा फूल र बत्तीको झिलिमिली नभई मनभरि पीडा मात्र छाएको छ ।
मनभरि पीडा बोकेर तिहार मनाउन नसकिएको पनौती नगरपालिका–१२ माथिल्लो राशी बजारका भवानी केसीले बताए । यसअघि घर नजिकै रहेको खोल्सामा कलकल बगिरहेको खोल्साको पानी अनि वरिपरि हरियाली वातावरणमा सुन्दर रहेको बस्तीमा एक्कासी गएको बाढीपहिरोले घरखेत सबै बगाएपछि बगर बीचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहने उनले बताए ।
घरआँगनमा तिहारको लागि रोपेको सयपत्री फूलको बगैँचासहित घर अहिले बाढीले खण्डहर बनाएको बगरमा परिणत भएको छ । ‘यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ’ भवानीले भने, ‘अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ ।’
लामा गएको बाढीले बस्ती बगाएपछि यहाँका नागरिकलाई पनि चाडपर्वको रौनकले छाएको छैन, कसैलाई पनि ‘फूल र बत्तिको झिलिमिली’ लागेको छैन । जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले घर बगाएर विचल्लीमा परेका परिवारले सुरक्षित बासस्थानको अभावमा खुसीले चाडपर्व मनाउन पाएका छैनन् ।

प्रतिक्रिया