शनिबार, असार १४, २०८२

डब्लुएचओको ध्यान बुधबार गाजाबाट ठूलो चिकित्सा निकासीमा

नेपालखोज २०८१ कार्तिक २० गते २१:०६

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार जारी साताको बुधबार गाजाबाट ठूलो मात्रामा चिकित्सा निकासीको योजना बनाएको बताएको छ । यसमा युद्धग्रस्त क्षेत्रबाट एक सयभन्दा बढी गम्भीर रूपमा बिरामी र घाइते रोगीहरू समावेश हुनेछन् ।

डब्लुएचओका अनुसार यसका सहयोगीहरूसँगै बुधबार उनीहरूले संयुक्त अरब इमिरेट्स र केहीलाई रोमानियामा विशेष उपचारका लागि एक सय १३ रोगीलाई निकाल्ने छन् ।

राष्ट्रसङ्घीय एजेन्सीले कार्यक्रम सफल भयो भने यो सन् २०२३ अक्टोबरपछिको गाजाबाट सबैभन्दा ठूलो निकासी हुने बताएको छ । प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिक पिपरकोर्नले उहाँहरू उद्धार कार्यक्रम अगाडि बढाउन आशावादी रहेको बताए ।

उनले गाजा क्षेत्रका विभिन्न अस्पतालबाट रोगीहरूलाई खान युनिस दक्षिणमा रहेको गाजा युरोपेली अस्पतालमा ल्याउन प्रयास भइरहेको बताए ।

बुधबार बिहान उनीहरूलाई केरेम शालोममा लगिनेछ र त्यहाँबाट संयुक्त अरब इमिरेट्स र रोमानियामा लैजाने गाजाबाट भिडियो कनेक्सनमार्फत जेनेभामा पत्रकारहरूलाई पिपरकोर्नले बताए ।

यी रोगीहरू गाजामा चिकित्सकीय कारणले उद्धार हुन प्रतीक्षारत लगभग १४ हजारमध्येका हुन् । ‘उनीहरूमध्ये आधा युद्धको कारण घाइते भएका छन् र अरू गम्भीर रोगहरू जस्तै क्यान्सरबाट पीडित छन्’, उनले भने ।

हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमा घातक आक्रमणपछि गाजा युद्ध सुरु भएदेखि क्षेत्रबाट कम्तीमा पाँच हजारजनालाई चिकित्सकीय निकासी गरिएको छ ।

त्यसका साथै मे महिनाको सुरुमा इजरायलले गाजाको प्रमुख रफाह सीमा क्रस्सिङ बन्द गरेदेखि महिनामा मात्र दुई सय ८२ जना बाहिर जान सकेका छन् । तीमध्ये एक–तिहाइ बच्चा रहेको पिपरकोर्नले जानकारी दिए ।

प्रतिक्रिया