सोमबार, मंसिर २४, २०८१

प्लास्टिक प्रदूषण सन्धि वार्तामा मन्त्रीहरूको सहभागिता होस् भन्ने युरोपको चाहना

नेपालखोज २०८१ कार्तिक २२ गते १९:४७

पेरिस । विश्वको पहिलो प्लास्टिक प्रदूषण सन्धि उच्च महत्त्वाकांक्षी बन्न सकोस् भन्ने सुनिश्चित गर्न युरोपले संयुक्त राष्ट्रसङ्घीय वार्तामा मन्त्रीहरूको सहभागिता चाहेको छ ।

पर्यवेक्षकहरूका अनुसार कोरियाको बुसानमा नोभेम्बर २५ मा हुने वार्तामा विषयवस्तुको प्रगति अत्यन्त सुस्त छ र कतिपय देशले कुनै पनि अन्तिम सन्धिलाई कमजोर बनाउन खोजिरहेका छन् ।

युरोपेली सङ्घ (इयु) का देशहरू नयाँ ‘भर्जिन’ प्लास्टिकको उत्पादनमा कटौती गर्नुपर्ने माग गर्ने गठबन्धनको हिस्सा रहेका छन् ।

फ्रान्सका पर्यावरणमन्त्री एग्नेस पानियर–रुनाचरले सांसदहरूलाई भने, ‘मन्त्रीहरू नभएकाले महत्त्वाकांक्षी सन्धि गर्ने यो एउटा कमजोर इच्छाशक्ति देखाउँछ ।’

उनले एक सय ७५ मुलुक बुसानमा भेला हुँदा सम्झौता गर्नका लागि ‘राजनीतिक गति दिन’ मन्त्रीहरूलाई वार्तामा आमन्त्रित नगरेको बताए ।

इयुको घुमाउरो अध्यक्षता गर्ने हङ्गेरीले २७ सदस्य मुलुकलाई ‘प्लास्टिक प्रदूषण विरुद्धको लडाइँमा इयुको सामूहिक प्रयासलाई सुदृढ बनाउन’ मन्त्रीहरूलाई सहभागी हुन अनुरोध गरेको छ ।

प्लास्टिक उत्पादन २० वर्षमा दोब्बर भएको छ र सन् २०६० सम्ममा वर्तमान दरको तीन गुणाले बढ्न सक्ने आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) को प्रतिवेदनले उल्लेख गरेको छ ।

तथापि ९० प्रतिशतभन्दा बढी प्लास्टिक रिसाइकल गरिँदैन र यसको ठूलो हिस्सा प्रकृतिमा फालिन्छ वा डम्पिङ स्थलमा गाडिन्छ ।

प्रतिक्रिया