आइतबार, वैशाख १६, २०८१

भूपी शेरचनको जन्मजयन्ती

सुनिल उलक २०८० पुष १० गते १३:०१

भूपी शेरचनको जन्म वि.सं. १९९२ पौष १० गते मुस्ताङ जिल्लाको टुकुचेमा भएको थियो । जन्मको नाम भुपेन्द्रमान शेरचन भए पनि शुरूमा भुपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ नामबाट कविता लेखेका थिए । घुम्ने मेच माथि अन्धो मान्छेकाे प्रकाशन गर्दा भूपी शेरचन लेख्न थालेका हुन् र यहि नामले सर्वाधिक चर्चित पनि भए ।

राणाकालमा वि.सं. १९०७ तिर जंगबहादुरले सरकारी कर्मचारीलाई थाकखोलामा थकालीहरूलाई भरियाको रूपमा भर्ना गर्न पठाए तर कोबाङका बलबिर तथा धन्साराम थकालीले त्यस बिरूद्ध उजुरी गरे । त्यसपछि थकालीलाई सैनिकको रूपमा मात्र राख्ने त्यसबेलाको राणा सरकारले सम्झौता गरे । बलबिर थकालीले भोटसंगको युद्धमा दोभाषेको रूपमा काम पाए । यो जंगबहादुरको समय थियो ।

युद्धमा उनको योगदानलाई कदर गर्दै बौद्ध धार्मिक ग्रन्थ काङ्ग्यूर र टेङ्ग्यूरको पाण्डुलिपि उपहार दिए । १९१७ मा भोटकाे नुन तथा अन्य बस्तुको बिक्रीको कर उठाउने ठेकेदारी पाएका चम्पासिंह खड्का क्षेत्रीको सहयाेगीको रूपमा बलबिरले काम पाए ।

उनलाई बिभिन्न आराेपमा समातेर जेलमा राख्दा भागेर काठमाडौ गइ जंगबहादुरलाई बिन्तिपत्र चढाए पछि उनका दुश्मनहरू सबै समातिए साथै ब्यापारको सिमा पनि कास्कीसम्म भयो । यहि समयमा २१६ थकाली परिवारहरू थाकखोलाबाट बाहिर कास्की तथा लमजुङमा बसाइ सरे । वि.सं. १९२५ मा दानामा भोटको ब्यापारको भन्सार रकम उठाउने ठेकेदारी यिनै बलबिर थकालीले पाए पछि परिवारको जीवन स्तर निकै उकासिन थाल्यो ।

यिनै बलबिर थकाली नै भूपी शेरचनका बुढा जिजुबाजे हुन् । उनका जिजुबाजे कविराम कोवाङबाट टुकुचेमा बसाइ सरेका थिए । थाकखोला, कोवाङ तथा टुकुचेमा सर्वाधिक धनी तथा राणाबाट सुब्बाको पद पाएका परिवार भएकोले भूपीको शान पनि कुनै राणाको भन्दा कम थिएन ।

उनकै जेठो दाजु अनंगमान शेरचनले पनि निकै समय भैरहवा भन्सारको ठेकेदारी पाएका थिए । यसरी पारिवारिक रूपले सम्पन्न भूपीले भने बाल्यकाल रमाइलो गरी बिताउन पाएनन् । उनि भन्दा माथी चार छोराको जन्म भैसकेकोले उनका बाबु हितमान शेरचन छोरीको चाहनामा थिए । तर छोराको जन्म त्यो पनि मूल (औसी) मा परेको भनि बाबुको उपेक्षा रह्यो ।

एउटै माया गर्ने आमाको पनि पाच वर्षको हुदा नै मृत्युले अझ मायाको अभावमा हुर्के । १०-१२ वर्षको उमेरबाटै बनारस पढ्न गएका उनको त्यहिबाट नै चुरोट तथा रक्सीको लत लाग्यो । यहि नै मार्क्सवादी चिन्तनको प्रभावमा परे जसको असर उनका कविताहरूमा स्पष्ट देख्न सकिन्छ ।

२०१२ मा सानै उमेरमा पारिवारिक दवावमा बिबाह बन्धनमा बाधिएका उनि पछि स्वेच्छाले राणा परिवारसंग बिबाह बन्धनमा गासिए । चालीस हजारमा बाबु हितमान शेरचनले किन्नु भएको राणा वडाहाकिम धनशम्शेरको पोखराको सेतो दरवार नै उनको निवास भए पनि कान्छी बिबाह गरे पछि अधिकांश समय काठमाडौ नै बसे । उनले आफुलाई यसरी वर्णित गर्थे ‘औंसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भूलमा पर्नु र अहिले कर्मनिस्ट हुनु’ । यसरी बिभिन्न आराेह अवराेह पछि २०४६ जेठ १ गते सदाको लागी संसारबाट बिदा लिए ।

तस्विर २०३७ सालको कविता महोत्सवको अवसरमा ।

प्रतिक्रिया