‘देश विकासका लागि सरकार र राजनीतिक दलबीच सहकार्य हुनुपर्छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसर आज यहाँ आयोजित कार्यक्रममा उनले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताए ।
‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत आलोक हो’, उनले भने, ‘लोकतन्त्रको यही आलोकलाई मानेर हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन ।’ मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने युवाको सपना साकार पार्ने, उनीहरुका चाहना यही व्यवस्थामा पूरा गर्न सम्भव छ भनेर जनतालाई विश्वास दिलाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपतिले बताए ।
‘मुलुकबाट विसङ्गति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडिएका जनताको आवाज सुनेर उनीहरुका समस्या सम्बोधन गर्न सरकारले नीति एवं कार्यक्रम तर्जुमा गरी तीनलाई कार्यान्वयन गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने । विश्वेश्वरप्रसाद कोइरालाले गणेशमान सिंहकाबारेमा भन्ने गर्नुभएको कुरा स्मरण गर्दै उनले भने, ‘गणेशमानजी साहसी र सङ्घर्षशील मात्र हुनुहुन्नथ्यो, उहाँ भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो । उहाँले भनेका अधिकांश कुरा सत्य सावित हुन्थे ।’
नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा गणेशमान सिंहको योगदानलाई नेपाली जनताले कहिल्यै नबिर्सने उनले बताए । ‘लोकतान्त्रिक सिद्धान्त, मूल्यमान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नु हुने गणेशमानजीले यसको मूल्यमा कहिल्यै सौदाबाजी गर्नुभएन, उहाँको त्यही सद्गुण नै लोकतन्त्रप्रेमीहरूका लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने ।
लोकतान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्यमान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रका लागि हितकर हुन सक्दैन भने । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानको समीक्षा गरी आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताए ।

प्रतिक्रिया