बिहीबार, असार १९, २०८२

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म

नेपालखोज २०८१ कार्तिक २४ गते १६:२२

म्याग्दी । यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौं, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो ।

रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले यहाँ उत्पादित टिमुर स्वदेशका साथै विदेशबाट पनि माग आएको बताए ।

‘विभिन्न देशमा रहेका नेपालीले जन्मथलो आउँदा र आफन्तमार्फत उपभोगका लागि टिमुर लैजानुहुन्छ । पछिल्लो समय व्यावसायिक रूपमा माग आउन थालेको छ’, उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गरेर उपभोगयोग्य प्रमाणित गरिएको टिमुर विदेश पठाउने गरेका छौँ ।’

बेनी–९ घतानको फरकफरक ठाउँमा उत्पादन भएको २० किलो काँचो र दुई किलो सुकाएको टिमुर परीक्षणका लागि गत साता काठमाडौँस्थित गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाएको बानियाँले जानकारी दिए । प्रयोगशालाको प्रतिवेदन आएपछि बिक्री गर्ने तयारी भइरहेको भन्दै उनले अहिले यहाँका किसानले उत्पादित टिमुर टिप्न थालेका बताए ।

गत वर्ष घतानमा उत्पादन भएको एक हजार छ सय किलो टिमुर प्रतिकिलो रु तीन हजारका दरले बिक्री भएको थियो । योमध्ये विदेशी बजारमा करिब दुई सय किलो बिक्री भएको बानियाँले बताए । धेरैजसो टिम्मुर मुस्ताङका होटल सञ्चालकहरूले अग्रिम भुक्तानी गरी खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया