‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ : मुख्यमन्त्री सिंह

वीरगञ्ज(पर्सा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिएका छन् ।
आज यहाँ आयोजित ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४’ कार्यक्रममा उनले नयाँ सोच र विचारसहित आएका नवउद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रम अघि सारेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश स्टार्टअप समिति, मधेस सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४ कार्यक्रममा स्टार्टअपसँग सम्बन्धित करिब चार सयभन्दा धेरै सहभागी रहेका छन् ।
मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ अन्सारीले स्टार्टअप व्यवसायकै माध्यमबाट मधेस प्रदेशको आर्थिक विकास र रोजगारी सिर्जना गर्नसक्ने बताए । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्टार्टअपसँगसम्बन्धी नयाँ सोच र भिजन लिएर आउने युवालाई सधैँ प्रोत्साहन गर्ने बताए । गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चामरियाले स्टार्टअपको मार्केट विश्वव्यापी भएकाले सोहीअनुरुपमा नयाँ सोचको विकास गर्नुपर्ने बताए । ‘जहाँ समस्या हुन्छ । त्यहाँ नयाँ स्टार्टअपको जन्म पनि हुने गर्छ’, उनले भने, ‘समस्या भएको ठाउँमा स्टार्टअपका माध्यमबाट नयाँ विजनेसको सुरुआत पनि गर्न सकिन्छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेस प्रदेशमा स्टार्टअपको विकास गर्नका लागि सम्मेलन आयोजना गरेको बताए । ‘मधेस प्रदेशमा अथाहा सम्भावना रहेका छन् । ती सम्भावनालाई अवसरमा बदल्नका लागि यो कोशेङ्गा सावित हुने आशा गरेका छौँ’, उनले भने, ‘स्टार्टअप कार्यक्रमले नयाँ सोच भएका युवा र लगानीकर्ताबीच सेतुको काम गर्ने अपेक्षा राखेका छौँ ।’
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले राज्यले स्टार्टअपका नयाँ सोच लिएर आएका युवालाई सहुलियत कर्जा र बिनाधितो ऋण प्रवाह गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया