शुक्रबार, असार १३, २०८२

‘मध्यपूर्वभन्दा बाहिर युद्ध विस्तारको खतरा रहेको’ इरानको भनाइ

नेपालखोज २०८१ कार्तिक २४ गते २०:२५

तेहरान । इजरायलले तेहरान समर्थित समूहसँग लडिरहेको ‘गाजा र लेबनानमा जारी युद्ध मध्यपूर्वभन्दा बाहिर’ पनि फैलन सक्ने इरानले बताएको छ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले युद्ध लम्बिँदै जाँदा यसको भौगोलिक रूपमा विस्तार पनि हुने खतरा बढ्दै गएको बताएका हुन् ।

‘युद्धको विस्तार र असर पश्चिम एशिया क्षेत्रमा मात्र सीमित छैन, असुरक्षा र अस्थिरता अझ टाढासम्म अन्य क्षेत्रहरूमा पनि फैलन सक्छ भनने विश्वले बुझ्नुपर्छ,’ अरागचीले सरकारी टिभीमा प्रसारित एक सम्बोधनमा भने।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक समूह हमासले इजरायलमाथि आक्रमण गरेयता इरानसमर्थित प्यालेस्टिनी लडाकू समूह हमासविरुद्ध इजरायलले गाजा पट्टीमा युद्ध जारी राखेको छ ।

इजरायलले हालै लेबनानमा आफ्नो ध्यान केन्द्रित गरेको छ । इजरायलले लेबनानी लडाकू समूह हिजबुल्लाहसँग सेप्टेम्बरदेखि प्रत्यक्ष युद्ध सुरू गरेको छ । हिजबुल्लाह समूहलाई इरानको आर्थिक र सैन्य समर्थन रहाँदै आएको छ ।

तेहरानले अक्टोबर १ मा इजरायलमाथि गरेको आक्रमणको जवाफमा इजरायलले २६ अक्टोबरमा इरानका सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो। अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको इरानी अधिकारीहरूले बताएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट एक जना सर्वसाधारणको पनि मृत्यु भएको छ। अमेरिका र इजरायलद्वारा जवाफी कारबाही भएमा इरानले त्यसको नराम्रो नतिजा भोग्नुपर्ने चेतावनीका बावजुद् पनि तेहरानले प्रतिकार गर्ने जनाएको छ ।

प्रतिक्रिया