फाल्गुनन्दको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय छन् : उपराष्ट्रपति यादव

नेपालखोज २०८१ कार्तिक २५ गते ८:११

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिनुभएको योगादन सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताएका छन् । फाल्गुनन्द जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले फाल्गुनन्दले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन्’, उपराष्ट्रपतिले भने । फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र अवलम्बन गर्नुभएको सत्मार्ग सिङ्गो नेपाली समाजको मार्गदर्शन गर्ने महत्त्वपूर्ण पक्ष भएको उपराष्ट्रपति यादवको भनाइ छ ।

‘फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ–आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्काउलोपन, आडम्बर र महँगा कुसंस्कृतिलाई मितव्ययी एवं संयमित बनाउन सहयोग पुग्ने भएकाले हामी सम्पूर्णले त्यसको परिपालना र अनुशरण गर्न अति जरुरी छ’, उको सन्देशमा उल्लेख छ । उपराष्ट्रपति यादवले किराँत धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको फाल्गुनन्दले शिक्षा, सामाजिक समता र सांस्कृतिक पहिचानको क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएको स्मरण गरे ।

किराँत समुदायका धर्मगुरु भए पनि सबै समुदायले फाल्गुनन्दप्रति समान श्रद्धा र आस्थाका साथ जन्मजयन्ती भव्यताका साथ मनाउने गरेको उल्लेख गर्दै उनले किराँत धर्म र संस्कृतिको मौलिक पहिचानको संरक्षणमा जोड दिँदै समाज सुधारको अभियानमा फाल्गुनन्द जीवनभर अहोरात्र समर्पित एवं सक्रिय रहनुभएको बताए ।

यस जयन्तीलाई किराँत समुदायको गौरवशाली इतिहास र परम्परालाई जगेर्ना गर्ने अवसरका रूपमा लिन सक्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण फाल्गुनन्द जयन्तीले राष्ट्रिय एकता, पहिचान र सामाजिक चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीले सम्पूर्ण नेपालीलाई देश र समाजमा सदाचार, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै मुलुकको विकासको महाअभियानमा जुट्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्

प्रतिक्रिया