मंगलबार, मंसिर २५, २०८१

आज हरिबोधनी एकादशी ! (फोटोफिचर)

सुनिल उलक २०८१ कार्तिक २७ गते १५:५९

काठमाडाैं । आज हरिबोधनी एकादशी जनमानसमा ठुलो एकादशीको नामले चिनिने यस दिन सँगै हिन्दुहरूको महान् उत्सवमय दसैँ तिहारको उल्लासको समाप्ति हुन्छ । यसै दिनबाट कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाश दीप पनि बाल्न बन्द गरिन्छ ।

एक वर्षमा पर्न जाने २४ एकादशी (अधिक मासको समय २६ एकादशी) मध्ये यो एकादशीलाई विशेष लिने हुँदा यश एकादशीलाई ठुलो एकादशी भनिएको हो । चार महिना लामो शयन पछि आजकै दिन भगवान् विष्णु जागरण भई वैकुण्ठ वासमा जानुहुन्छ । साथै यसै दिन चतुर्मासको समाप्ति हुने हुँदा वैष्णव धर्मावलम्बी तथा हिन्दु धर्मावलम्बीहरूले विशेष पर्वका रूपमा मनाउने गर्दछन् ।

आजैको दिन आँगनमा रोपिएको तुलसीको विवाह विष्णुका प्रतिकका रूपमा राखिएको शालिग्रामसँग गराइन्छ । यसको अलग्गै कथा छ ।

विष्णुको छलका कारण आफ्नो पति जालन्धरको मृत्यु भएपछि पतिव्रता वृन्दाको श्रापले भगवान् विष्णु शालिग्राम भएका थिए । यस्तै जालन्धरको मृत्यु पछि सती गएका पतिव्रता वृन्दा जलाइए पछि उनैको पुनर्जीवनका रूपमा सो जमिनमा तुलसी उम्रिएको थियो । आज यिनै भगवान् विष्णुको रूपमा रहेको शालिग्राम र वृन्दाका रूपमा रहेको तुलसीको विवाह गराइन्छ । आज तुलसी र शालिग्रामको विवाह गरे पछि आजकै दिनबाट विवाह तथा सबै माङ्गलिक कार्य गर्न सकिन्छ ।

आजैको दिनबाट पूर्णिमा सम्मको दिनलाई भिष्मपञ्चक भनिन्छ । यो अवधिभर काठमाडौँका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) मा मेला लाग्ने गर्दछ । पोखराको कोठेसांघु (हालको महेन्द्रपुल) मा पनि पहिले पहिले ठुलो मेला लाग्ने गर्दथ्यो । गाउँ घरबाट आउने व्रतालुहरूले निकै ठुलो बजार लाग्ने गर्थ्यो । यहाँ राखिएका केही तस्बिर आज भन्दा ६० वर्ष अगाडी हालको महेन्दपुलमा लागेको मेलाको हो । बाजागाजा सहित ल्याइएको तोरणलाई सेतीको वारपार टाङ्ने गरिन्थ्यो । र दिनभर बजार लाग्ने गर्दथ्यो ।

प्रतिक्रिया