दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती

झापा । झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् ।
आज दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति पुर्याए । वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन । तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन् । जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्षित हुने समाधानका ठोस उपाय निकाल्न सकिएको छैन ।
‘मानिसहरु आ–आफ्नो काम धन्धामा व्यस्त थिए’, भद्रपुर–९ मिलचोकका दीपेन्द्र कटुवाल भने, ‘हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो । हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ ।’ नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो । त्यही धान खाएर हात्ती निचाझोडा जङ्गलतिर गएको उनले बताए ।
झापामा एक दर्जन बढी हात्तीले स्थानीय जङ्गलमा आश्रय लिँदै आएको वन कार्यालयले जनाएको छ । जिल्लाको दक्षिणस्थित जलथल जङ्गल, मध्यभागस्थित निचाझोडा जङ्गल र उत्तरतिरको चुरेभावर जङ्गलमा हात्ती बस्ने गर्छन् ।
उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती र रैथाने हात्तीबाट जिल्लावासी पिरोलिएका छन् । १५ स्थानीय तहमा हात्तीले नडुलेको कुनै वडा छैन । हात्तीको आक्रमणमा मानिसको मृत्यु नभएको कुनै स्थानीय तह जिल्लामा बाँकी छैन ।
प्रायः जङ्गली हात्तीहरु दिउँसो जङ्गलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन् । तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको र दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देवेन्द्र खरेल बताए ।

प्रतिक्रिया